सहमतिमा एमाले नेतृत्वको सरकार बन्नुपर्छ: सुजाता


आश्विन १८, २०७२- कांग्रेस नेतृ सुजाता कोइरालाले अब सहमतिमै एमालेलाई सरकारको नेतृत्व दिइनुपर्ने बताएकी छिन् । 
लन्डनस्थित नेपाली दूतावासमा सिमित सञ्चारकर्मीसँग बोल्दै उनले सहमतिमै एमालेले सरकार बनाउनुपर्ने र त्यसमा एमाओवादी र कांग्रेस पनि सामेल संविधान निर्माणपछिको अगाडी आइपर्ने चुनौतीको सामना गर्नुपर्ने बताइन् । ‘म पनि प्रधानमन्त्रीको दावेदार हुँ । तर म बन्न चाहन्न । किनकी यतिबेला व्यक्तिगत होइन, देशको हितका लागि सोच्नुपर्छ,’ कोइरालाले भनिन्, ‘शीर्ष नेताहरु प्रधानमन्त्री नभएपनि तपाईंहरु प्रभावशाली नेता सधैं रहि रहनुहुन्छ । त्यसकारण प्रधानमन्त्री नै बन्नतिर नलाग्नुस् ।’
नेपालको समृद्धिका लागि अझै २० वर्ष सहमतिकै सरकार गठन गर्नुपर्ने उनको धारणा थियो । नेपाली जनता आफैंले ल्याएको संविधानको स्वागत गर्नुको सट्टा भारतले हाल लगाइरहेको अघोषित नाकाबन्दीले भारत विरोधी भावना झन् बढ्ने उल्लेख गर्दै कोइरालाले यही कारण नेपाल–भारत सम्बन्ध बिग्रनेमा समेत चिन्ता व्यक्त गरिन् । 
पूर्व परराष्ट्रमन्त्री समेत रहेकी कोइरालाले भारतको रवैयाप्रति नेपाल सरकार कुटनीतिक रुपमा दरिलो हुन नसकेको आरोप समेत लगाइन् । नेपाली कांग्रेसको आगामी महाधिवेशनमा आफू सभापति लड्ने जनाउँदै कोइरालाले यसका लागि नेपाल फर्कने बित्तिकै कार्यकर्ता भेट्न जिल्ला भ्रमणमा निस्कने बताइन् ।
प्रकाशित: आश्विन १८, २०७२
Previous
Next Post »