माघ १८, २०७२- विश्व नम्बर–१ नोभाक जोकोभिचले खराब प्रदर्शन गरेका एन्डी मुरेलाई सीधा सेटमा पराजित गर्दै आइतबार कीर्तिमान छैटौंपल्ट अस्ट्रेलियन ओपन जितेका छन् । उनको यो जितले पुरुष विश्व टेनिसमा उनको वर्चस्व फेरि सिद्ध भएको छ । सर्बियाली खेलाडीले २ घन्टा ५३ मिनेट चलेको खेलमा मुरेलाई ६–१, ७–५ र ७–६ (७/३) ले हराए ।
मुरे अस्ट्रेलियन ओपनको फाइनलमा पराजित भएको यो पाँचौंपल्ट हो । जोकोभिचले भने छपल्ट अस्ट्रेलियन ओपन जितेर अस्ट्रेलिययाकै रोय एमरसनको कीर्तिमान बराबरी गरेका छन् । एमरसनले सन् १९६१ देखि १९६७ बीच छपल्ट उपाधि जितेका थिए र उनको यो प्रदर्शन ४९ वर्षसम्म कायम रह्यो ।
जोकोभिचले ग्रान्डस्लाम उपाधि जितेको भने यो ११ पल्ट हो र उनी सबैभन्दा बढी ग्रान्डस्लाम जित्ने पुरुष खेलाडी सूचीको पाँचौं स्थानमा पुगेका छन् । त्यस स्थानमा रड लेभर र ब्योन बर्ग पनि छन् । सर्वाधिक १७ ग्रान्डस्लाम जित्ने खेलाडी भने रोजर फेडेरर हुन् ।
जोकोभिचले सन् २००८ मा जो बिल्फ्रेड सोङगालाई हराएर आफ्नो खेलजीवनको पहिलो प्रमुख उपाधि जितेयता उनले सन् २०१२ मा राफेल नाडललाई पराजित गरेका थिए । उनले सन् २०११, २०१३, २०१५ र २०१६ मा मुरेलाई पन्छाए । जोकोभिचले ग्रान्डस्लाममा आफ्नो लगातार जितको यात्रा २१ खेल पुर्याएका छन् । गत वर्ष फ्रेन्च ओपनको फाइनलमा स्टान वावरिन्कासँग बेहोरेको हारलाई छाडेर उनले कुनै पनि ग्रान्डस्लाममा खेल गुमाएका छैनन् । ‘मेरा लागि यो ठूलो उपलब्धि हो,’ जोकोभिचले पछि भने, ‘म यो लय पूरा सिजन कायम राख्न चाहन्छु ।’ अर्कोतर्फ हारपछि त्यसको कारण विश्लेषण गर्दै मुरेले भने, ‘मैले राम्रो सुरुआत लिन सकिनँ र यसै कारण अन्त्यसम्म दबाबमा रहें ।’

Sign up here with your email
ConversionConversion EmoticonEmoticon