काठमाडौं, साउन १७ – गर्मी र वर्षातको बेला सर्पदंशका घटना बढ्ने गरेका छन् । वर्षेनी झण्डै १० हजार जनालाई सर्पले टोक्ने गरेको तथ्यांक छ । काठमाडौंको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा दैनिक ७/८ जना सर्पदंशका बिरामी उपचारको लागि पुग्ने गर्छन् ।
गएका वर्षहरु भन्दा योवर्ष सर्प दंशका घटना केही बढेको डाक्टरहरु बताउँछन् । सर्पदंशका घटना बढ्नुमा यो वर्षको सुरुवातमै वैशाख १२ गते गएको विनासकारी भूकम्प पनि एउटा कारण हो भन्नुहुन्छ टेकु अस्पतालका निर्देशक डा. केदारप्रसाद सेन्चुरी ।
अरु देशहरुमा पनि भूकम्पपछि सर्पदंशका घटना बढेको अनुसन्धानले देखाउँछ । नेपालमा पनि भूकम्पले क्षति पु¥याएका जिल्लाहरुमा सर्पदंशका घटना बढि भएको पाइएको छ । तर औषधि अभाव भएका कारण विरामीहरु उपचारकै लागि काठमाडौं आउनुपर्ने बाध्यता छ ।
नेपालमा सर्पले टोकेमा लगाउने औषधि एन्टीस्नेक भेनमको अभाव छ । ४ वर्षदेखि नै अभाव भएपनि सरकारले एन्टिस्नेक भेनमको पर्याप्त आपूर्ति गर्न सकेको छैन । बिरामीको उपचारका लागि बर्षेनी झण्डै ४० हजार भाइल एन्टीस्नेक भेनम आवश्यक पर्ने गरेकोमा सरकारसँग अब १५ सय भाइल मात्र बाँकी छ ।
किन भयो अभाव ?
एन्टीस्नेक भेनम उत्पादनमा सर्प र घोडालाई प्रयोग गरिने भएकाले पशुअधिकारकर्मीले विरोध गर्दै आएका छन् । विरोधका कारण भारतमा भेनम उत्पादनमा अदालतले रोक लगाएको छ । ‘आफ्नो देशमा आवश्यक पर्ने मात्र उत्पादन गर’ भन्ने अदालतको आदेश पछि भारतले अरु देशमा औषधि पठाउन रोक लगाएको छ ।
भारतमै पनि औषधि उत्पादन गर्दै आएका कतिपय कम्पनी बन्द भए । यसको प्रत्यक्ष असर नेपालमा पनि परेको हो । भारतबाट भेनम नेपालमा आउन छाडेपछि अभाव भएको इपिडिमियोलजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ ।
कसरी बन्छ एन्टिस्नेक भेनम ?
यो जैविक उत्पादन हो । विष प्रतिरोधक तयार गर्न वैज्ञानिकहरुले घोडालाई सबैभन्दा उत्तम मानेका छन् । यसकारण भेनम उत्पादनका लागि सर्प र घोडा आवश्यक छ । सर्पको विष प्रतिरोधका रुपमा सर्पकै विष प्रयोग गरी घोडामार्फत औषधि बनाउने गरिन्छ । विष संकलन गर्न गिलास वा यस्तै कुनै भाँडामा ढुङ्गा सहित सर्पको मुख भाँडाभित्र पारेर राखिन्छ । भाँडाभित्र मुख पारेर राखेको सर्पको टाउकोमा बिस्तारै थिचिन्छ । मुख थिच्दा सर्प रिसाउँछ । रिसाएका बेला सर्पले भाँडा भित्रको ढुङगालाई टोक्छ र त्योबेला विष पैदा गर्छ र भाँडामा जम्मा हुन्छ ।
सर्पको विष निकालेपछि त्यसलाई माइनस २० डिग्री सेन्टिग्रेड तापक्रममा जमाइन्छ । यो विष जम्मा गरेर प्रगोशालामा आवश्यक प्रक्रियापछि इन्जेक्सन मार्फत घोडामा लगाउने गरिन्छ । वैज्ञानिक प्रक्रिया अनुसार घोडामा राखिएको विषबाट बच्न घोडाले सिरम उत्पादन गर्छ । त्यसलाई घोडाको रगतबाट छुट्टयाएर एन्टिस्नेक भेनम बनाइन्छ ।
एउटा घोडाबाट एक पटकमा करिव १६ सय भाइल उत्पादन गर्न सकिन्छ तर यसको लागि भने २/३ महिनाको समय लाग्छ । यस्तो बेलामा घोडा कमजोर भए मर्न पनि सक्छ । नेपालमा अभाव हटाउन वर्षमा कम्तिमा २५ वटा घोडाबाट औषधि उत्पादन गर्नुपर्ने देखिन्छ ।
अभाव हटाउन के भैरहेको छ ?
सरकारले औषधि अभाव हटाउन तत्कालका लागि विश्व स्वास्थ्य संगठन ( डब्लुएचओ ) सँग १० हजार भाइल माग गरेको छ । माग गरे अनुसारको औषधि आएमा साउनभरीलाई पुग्ने इपिडिमियोलजी तथा रोग नियन्त्रण महाशाखा टेकु काठमाडौंका निर्देशक डा. बाबुराम मरासिनीले बताउनुभयो । यस्तै ओमानबाट पनि औषधि ल्याउने सरकारको तयारी छ । भूकम्पका बेला काठमाडौं आएका ओमान सरकारका प्रतिनिधीसँग स्वास्थ्यमन्त्री खगराज अधिकारी मार्फत प्रस्ताव राखिएको डा. मरासिनीले जानकारी दिनुभयो ।
स्वदेशमै औषधि उत्पादनका लागि के गर्नुपर्छ ?
औषधि अभाव हटाउन स्वदेशमै उत्पादन गर्नुको विकल्प छैन । औषधि उत्पादन जटिल प्रक्रिया पनि होइन । प्लान्ट निर्माण गरेर काम थाल्ने हो भने देशभित्रै ३/४ बर्षमै सर्पदंश विरुद्धको औषधि उत्पादन गर्न सकिन्छ । सर्पदंशका विरामीहरुका लागि आवश्यक औषधि नेपालमै उत्पादनका लागि सरकारले यो वर्षदेखि एन्टिस्नेक भेनम भ्याक्सिन उत्पादन सुरु गर्ने बजेटमा उल्लेख गरेको छ ।
औषधि उत्पादनका लागि सर्वप्रथम सर्प र घोडा तथा प्रयोगशाला आवश्यक छ । नेपालमै सर्प र घोडा पाल्ने वातावरण बनाउनुपर्छ । सर्प र घोडा पाल्ने वातावरण बनाउन खासै गाह्रो नरहेको विज्ञहरु बताउँछन् । तर औषधि उत्पादनका लागि आवश्यक दक्ष जनशक्ति तयार गर्न भने अझै केही समय लाग्ने डा. मरासिनीले बताउनुभयो ।
Sign up here with your email



ConversionConversion EmoticonEmoticon