आफन्तकहाँ जाँदा कोसेलीपात लैजाने अधिकांश परम्परागत परिकार पनि गुलियै हुन्छन्। केटाकेटीलाई पुरस्कारका रूपमा दिने सामग्री पनि मिठाई तथा चकलेट नै हुन्। यसरी केटाकेटीदेखि नै गुलिया वस्तुको सेवन गर्ने बानीले लतका रूपमा जरा गाडिसकेको छ। यस्ता विभिन्न वस्तु दिएर केटाकेटीलाई जीवनभरका लागि अस्वस्थ हुने श्राप दिइरहेको हेक्का हामीलाई नहुन पनि सक्छ।
त्यसो त अमेरिकाजस्तो देशमा पनि शिक्षित आमाबाबुले बालबच्चालाई गुलिया खानेकुरा दिएकै हुन्छन्। अचाक्ली गुलियो खाएका सन्तानमा किशोरावस्था पुग्दानपुग्दै मोटोपनको समस्याको साथै मुटु, मधुमेह, मिर्गाैला आदिमा समस्या आउन सक्छ। यही कुरालाई लिएर अमेरिकी स्वास्थ्यकर्मी चिन्तित छन्। भविष्यमा निम्तिने स्वास्थ्य, आर्थिक र सामाजिक समस्याका बारे पनि छलफल चलाइरहेका छन्।
विश्व स्वास्थ्य संघ ( डब्लूएचओ)ले सन् २००२ मै खानेकुरामा चिनीको मात्रा निकै कम हुनुपर्छ भन्ने निष्कर्ष निकालेको थियो। ब्रिटिस मेडिकल पत्रिकाले लेखेको छ, ‘सीधै चिनी खानाले मात्र होइन कि चिनी हालेका मिठाई, फलफूलका रस, बिस्कुट आदिमा मिसिएको चिनीले पनि दाँतमा कीरा लाग्न र मोटोपन बढाउन मद्दत गर्छ।’ बेलायतका कतिपय स्वास्थ्यकर्मीले त चिनीमा कर बढाएर चिनी कम खान प्रेरित गर्नुपर्ने धारणा राख्दै आएका छन्।
मिठाईबाहेक हामीले दिनदिनै प्रयोग गर्ने अन्य कतिपय वस्तुमा पनि अदृश्य चिनी हुन्छ। अमेरिकी मुटुरोग विशेषज्ञहरूको संस्थाका अनुसार महिलाले एक दिनमा २५ ग्राम चिनी (झन्डै ६ चिया चम्चा) र पुरुषले ३७ ग्राम अर्थात् (८–९ चिया चम्चा)भन्दा बढी चिनी प्रयोग गर्नु ठीक छैन।
नेपालीले दैनिक औसत पाँच चम्चाभन्दा बढी नै चिनी खाने गर्छन्। बिस्कुट, चिजबल, चकलेट, चुइङ्गम आदि पाकेटबन्द खाना, चिया, कफी, हट लेमन आदि तातो पेय पदार्थ तथा लस्सी, चिसो पेय पदार्थ र तयारी जुल, लस्सी आदि पदार्थमा पनि प्रशस्त मात्रामा चिनी मिसाइएको हुन्छ। त्यसै गरी सेल, मालपुवा, मिठाई, हलुवा, गुँदपाक, पुष्टकारी, केक, आइसक्रिम आदि खाद्य वस्तुमा पनि चिनी प्रयोग गरिएकै हुन्छ।
उसो त चिनी नेपाली समाजका लागि भोजन सामग्रीका रूपमा मात्र रहेन, चाडबाड र देवीदेवताका लागि चढाउने वस्तु पनि बन्न पुगेको छ। यसको अत्यधिक प्रयोगले एकातिर हाम्रो भोजनशैलीमा परिवर्तन भइरहेको छ भने अर्कोतिर स्वास्थ्य समस्या पनि निम्त्याइरहेको छ।
हामीमध्ये धेरैले चिनीलाई हानिकारक खाद्य पदार्थका रूपमा सोच्दैनौँ। चिनीले शरीरको प्रतिरोध क्षमता प्रणालीलाई कमजोर बनाउँछ। अहिलेसम्म भएका अनुसन्धानका अनुसार धेरै गुलियो खाँदा विशेष गरी दाँत कुहिने रोग केरिज, क्यान्सर, हाड कमजोर हुने रोग, मोटोपन, मधुमेह, मुटुरोग, उच्च रक्तचाप, चाँडै वयस्क र बुढ्यौली हुने, शारीरिक दुर्बलता, जोर्नी र छालाका समस्यामा चिनी कुनै न कुनै रूपमा कारक तत्त्वका रूपमा रहेको छ।
चरा पल्काउने चारोजस्तै हो, चिनी। एकपटक खाएपछि पटकपटक खाने लत लाग्छ, छोड्न पनि कठिन नै हुन्छ। सामान्यत: यस्ता खाद्यवस्तुमा कति मात्रामा चिनी छ भन्ने खुलाइएको हुँदैन। अझ सर्वसाधारणले चिनी भनेर प्राय: नबुझ्ने अरू नै विभिन्न आकर्षक व्यापारिक नाम ग्लुकोज, माल्टोज, फ्रुक्टोज, ल्याक्टोज आदि राखिएको हुन्छ। यो सरासर उपभोक्तालाई झुक्याउने बजार रणनीति हो।
गुलियो सेवन गरेपछि मुखमा रहेका किटाणुले चिनीसँग क्रिया गरी अम्ल उत्पादन गर्छन्। उक्त अम्लले दाँतको इनामेललाई गाल्छ। यो दाँतमा प्वाल पार्ने सुरुआत हो। यो प्वाल पर्ने क्रम भित्रसम्म बढ्दै जान्छ र यस प्वालबाट अम्ल छिरेर गिँजा सहनै नसकिने गरी दुख्छ। दाँत दुख्ने, प्वाल पर्नेजस्ता समस्यालाई बोलीचालीको भाषामा दाँतमा कीरा लागेको भन्ने गरिन्छ। यसको असर वयस्क हुँदासमेत परिरहेको हुन्छ।
केटाकेटी अवस्थामा बढी गुलिया वस्तु खानाले भविष्यमा मुटुसम्बन्धी रोग लाग्ने जोखिममा वृद्धि हुन्छ। मुटुसँग सम्बन्धित समस्यालाई पहिले नेपालको सहरिया र सम्भ्रान्त परिवारको मात्र समस्याका रूपमा बुझिन्थ्यो। तर, अहिले गाउँसहर र मध्यम तथा निम्न वर्गका मानिसमा पनि यो समस्या बढ्दो रूपमा देखा पर्न थालेको छ।
टेलिभिजनमा कामबाट थकाएको मानिसले ग्लुकोज खाएपछि शक्ति प्राप्त गरेको विज्ञापन देखाइन्छ र सर्वसाधारण यसको विश्वासमा पर्छन्। तर, यो सत्य होइन। खेल्दा र काम गर्दा शरीरको शक्ति खर्च भएर थकाइ लाग्नु स्वाभाविक हो। यसरी थकाइ लाग्नुको प्रमुख कारण शरीरबाट धेरै पानी जानु हो। शरीरबाट खर्च भएर गएको शक्ति अर्थात् ग्लुकोजको मात्रा अन्न समूह तथा फलफूल समूहका नियमित खानाबाटै प्राप्त हुन्छ।
चिकित्सकले नै सिफारिस गर्नुपर्ने विशेष अवस्थामा बाहेक प्रत्यक्ष ग्लुकोजको आवश्यकता पर्दैन। आधुनिक युगमा चिनीको प्रयोग ठ्याम्मै रोक्नुपर्छ भन्नु त अव्यावहारिक होला तर चिनी नखाएर स्वास्थ्यमा चाहिँ केही फरक पर्दैन भनेर सबैले थाहा पाउनु जरुरी छ
Sign up here with your email


ConversionConversion EmoticonEmoticon