चीनको सान्दोन जिनान चुबो सहरस्थित ब्याकयार्ड ग्यालरीमा भइरहेको कलाकार कविराज लामाको एकल कला प्रदर्शनीमा राखिएको ‘सिन, हेयर्ड, स्पोकन’ (हेरिएको, सुनिएको, बोलिएको) शीर्षक चित्रकलाकृति १० लाखमा बिक्री भएको छ।
यही साउन ७ गतेदेखि एक महिनाका लागि गरिएको प्रदर्शनीमा जापानको सन् २०११ विसं २०६७ का सुनामी र भूकम्प तथा नेपालको वैशाख १२ गतेको भूकम्पसम्बन्धी ३१ चित्रकला राखिएका छन्। बिक्री भएको शीर्षकको चित्र लामाले सन् २०१४मा जापानमा लिथोप्रिन्ट माध्यममा बनाएका हुन्। जर्मनीको बाबरियामा पाइने विशेषप्रकारको लाइमस्टोनबाट जापानको इजुमी कागजमा सो कला प्रकाशन गरिएको हो।
“खराब नसोच, खराब नहेर र खराब नसुन” भन्ने जापानी मान्यता सो कलामा प्रतिविम्बन भएको छ जुन मान्यता भारतका महात्मा गान्धीको पनि थियो।
“यो उमेरमा सबैभन्दा बढी मूल्यमा चित्र बिक्री गर्ने नेपालीमा संभवतः म नै पहिलो हुँला” एकतीस वर्षीय लामाले आज यहाँ ललितकला पत्रकार समाज नेपालद्वारा आयोजित पत्रकार सम्मेलनमा भने। कला प्रदर्शनीको स्कल्पचर एसोसिएसन अफ चुबोका अध्यक्ष छ स्यान सनले उद्घाटन गरेका थिए। उनका हालसम्म ७५ प्रतिशत चित्र बिक्री भइसकेको थाहा भएको छ ।
समाजका महासचिव देवेन्द्र थुम्केलीले १० वर्षअघि विश्वविद्यालयमा पढ्दा पढ्दै विपश्यना ध्यानका लागि बेपत्ता भई कलासाधनामा समर्पित लामाबाट युवा कलाकारले प्रेरणा लिनुपर्ने बताए।
प्रदर्शनीमा बिक्रीबापतको रकम दोलखा गौरीशङ्कर गाविसका विभिन्न विद्यालयको सहयोगमा खर्चिइने जनाइएको छ । भूकम्पपछि काभ्रेपलाञ्चोक तिमालका लामाले गोरखा भूकम्पको केन्द्रविन्दु बारपाक वरको गाविस घ्याचोकका बालबालिकालाई कला कार्यशाला पनि आयोजना गरेका थिए।
Sign up here with your email



ConversionConversion EmoticonEmoticon