मेरो कसैप्रति आग्रह–पूर्वाग्रह छैन
काठमाडौं – नेकपा–एमाले अध्यक्ष केपी ओलीले संविधानसभा विगतमा नेपाली जनताले चलाएका संघर्षलाई संस्थागत गर्ने ऐतिहासिक घडीमा भावना बगेर मात्र निर्णय लिन नहुने बताएका छन् । संविधानसभाको बैठकलाई आइतबार सम्बोधन गर्दै अध्यक्ष ओलीले यतिबेला आफैले चुनेका प्रतिनीधिमार्फत संविधानसभाबाट बनाएको संविधान जनतलाई उपलब्ध हुने निर्णायक ढंगले फैसाल गर्ने ठाउँमा पुगेको बताएका हुन् ।
उनले संविधानमा चित्त नबुझेको कुरामा आन्दोलन गर्नु आवश्यक नरहेको बताउँदै अहिलेको निर्णायक घडीमा संवादबाट समस्या समाधान गर्न सकिने बताए । उनले भने, ‘संविधानसभाको वहस छाडेर, दलहरुवीच संवाद छाडेर आन्दोलनमा जान आवश्यक छैन ।’
आन्दोलनरत पक्षलाई संवादमा आउन अपिल गर्दै ओलीले भने, ‘केही सभासद् अनशनमा हुनुहुन्छ । हामी संवादबाट समस्या हल गर्न सक्छौँ । भावनामा हिडनेहरु भावना नबगौँ । हामी खुला छौँ ।’
उनले आन्दोलनका नाममा विखण्डन मच्चाउने, प्रहरीमाथि हमला गर्ने, पेट्रोल हान्ने कुरा उचित नहुने बताउँदै यसले द्वन्द्व र भिडन्त मात्र निम्ताउने स्पष्ट पारे । ‘त्यतापट्टि जानु हुँदैन । सरकारका तर्फबाट ताकेर गोली चलाइएको भनिएको छ । त्यसो हुनु हुँदैन,’ उनले भने, ‘जनताका नाममा हिंसा भड्काउने कुरा मान्य हुँदैनन् । कैलाली र धनुषामा हिंसा भडकाउने काम भयो । त्यो मान्य छैन ।’
उनले एउटा संविधानसभा असफल भइसकेको बताउँदै यस संविधानसभालाई पनि असफल हुनबाट जोगाउनुपर्ने बताए । ‘जनताले अधिकार दिएर पठाएका छन्, त्यसलाई प्रयोगगर्ने अन्तिम बिन्दुमा पुगेका छौँ,’ उनले भने, ‘देशलाई अगाडि बडाउन छ । यथास्थितिमा राख्न हुँदैन । त्यसका लागि संविधान बनाउनुपर्छ ।’
संविधान जारी भएपछि पनि कतिपय नपुगेका कुरा समेटन सकिने बताए । ‘सबै भाषा, जाती, संस्कृति, बर्ग र पेशाका मानिसहरुका हक हित सुरक्षित गर्ने गरी अगामी दिनमा सच्चाउनुपर्छ । हामी त्यसमा तयार छौं । तपाईहरु संधिवानसभा छाडेर नजानुस्,’ ओलीले भने, ‘भावनामा नबग्नुस् । एउटा संविधान असफल भएको कुरालाई ख्याल राखेर विलम्प नगरि संविधान जारी गर्नुपर्छ । मैले जे भन्छु, त्यहि हुनुपर्छ भन्ने हो भने यो नहुन सक्छ । हामी धेरै पार्टी छौँ । अरुका कुरा सुनेर सहमति गर्नुपर्छ ।’
ओलीले आफ्नो कसैप्रति आग्रह पूर्वाग्रह नरहेको स्पष्ट पार्दै बाहिर गएका दलहरुलाई संविधानसभामा फर्कन अपिल गरे । ‘तपाईहरुका माग सम्बोधन गर्न हामी तयार छौँ । असहमतिको सम्मान त्यहि हो गणतन्त्र । असहमतिलाई सहमतिमा लैजान सकिन्छ । आफ्ना अभिमत राखेर जाने कुरा एउटा प्रक्रिया हो । मलाई पनि चिक्त नबुझेका कुरा हुन सक्छन् । भोली सच्चाउँला,’ उनले भने ।
Sign up here with your email



ConversionConversion EmoticonEmoticon