टीकापुरका थारू र पहाडी मिलेर बनाए रानी कुलाको बाँध

क नाबालकसहित ८ सुरक्षाकर्मीको ज्यान जाने गरी टीकापुर नगरपालिका वडा नं. ६ शंकरपुरमा भएको हिंसात्मक घटनापछि थारु र पहाडी समुदाय बीच देखिएको भड्कावलाई साम्य पार्न स्थानीय प्रशासनको सहयोगमा शुक्रबार थारु र पहाडी मिलेर रानी कुलाको बाँध निर्माण गरेका छन्। टीकापुर नगरपालिका, नारायणपुर र धनसिंहपुर गाविसका विभिन्न गाउँबाट दुर्गौली ९ जगतपुरको मालझुलमा रहेको रानी कुलाको मुहानमा जम्मा भएका झण्डै २ सय ५० थारु पहाडीले शुरु गरेको बाँध निर्माण कार्यलाई नेपाली सेना, जनपद प्रहरी र सशस्त्र प्रहरीले समेत सघाएको छ।
 
टीकापुर क्षेत्रमा थारु र पहाडी समुदायबीच सामाजिक सद्भाव कायमै रहेको सन्देश दिँदै झण्डै ४ हजार ३ शय हेक्टर जमिनमा सिचाईं गर्ने रानी कुलामा सुकेको पानी फर्काउन बाँध बाँधिएको स्थानीय कृषक मानबहादुर चौधरीले बताए। 
 
एक समुदायले अर्को समुदायसँग नजिक हुन नपाइरहेको अवस्थामा कर्फ्युका बीच पनि थारु र पहाडी मिलेर कुलाको बाँध बाँधेका हुन्। कर्फ्यूका बीचमा पनि सेना, प्रहरीले गरेको सहयोगप्रति खुसी व्यक्त गर्दै रानी जमरा कुलरियाका मूल समितिका कोषाध्यक्ष दामोदर खड्काले यस्ता कार्यले समाजितक सदभाव कायम रहने बताए।
 
लामो समयदेखि एकै आमाका सन्तान जस्तो मिलेर बस्दै आएको समुदाय अहिले पनि मिलेरै बसिरहेको सन्देश दिन गरिएको यो कार्यले सन्देश दिने रानी कुला जलउपभोक्ता समूहका कार्यवाहक अध्यक्ष श्रीपाल चौधरीले बताए।
 
इलाका प्रशासन कार्यालय टीकापुरका प्रमुख सुमन धितालले दुई समुदायबीचको सद्भाव कायम भएको सन्देश दिन प्रशासनले कुलाको बाँध बाँध्न सहयोग गरेको बताए। 
Previous
Next Post »