रिस अनियन्त्रित भए धेरै हानि

भाद्र १९, २०७२- रक्तचाप वृद्घि भए यसलाई सामान्य पार्न चिकित्सकीय वा गैरचिकित्सकीय प्रक्रियामा सबैजसो लाग्ने भए पनि नेपाली समाजमा रिस उठने समस्याको उपचार खोज्नै विरलै छन् ।

रिस शरीरको सामान्य प्रक्रिया भए पनि यो बानीको रूपमा देखिन थाले समस्या सुरु हुन्छ । हरेक कुरामा रिस उठ्नुले शरीरमा प्रतिकूल प्रभाव उत्पन्न गर्नुका साथै दीर्घकालीन मानसिक–शारीरिक समस्यासमेत निम्त्याउन थाल्छ ।
‘कसैको रक्तचाप १२०/८० त कसैको १३०/९० सामान्य भएजस्तै मानिसको रिस पनि एउटा सीमामा बस्नुपर्छ,’ त्रिवि शिक्षण अस्पताल, मानसिक स्वास्थ्य विभागका प्रमुख डा. सरोजप्रसाद ओझा भन्छन्, ‘जुनसुकै मानिसले सामान्य सीमाभित्र रिसाउने र खुसी हुने काम भने जारी राख्नुपर्छ ।’
रक्तचाप सीमाभन्दा बढी हुँदा सबैभन्दा पहिले जीवनशैलीमा परिवर्तन, खानपान नियन्त्रण, व्यायाम लगायतका प्रक्रियामा जानुपर्छ । यसो गर्दा पनि सामान्य नभए चिकित्सकीय सल्लाहमा औषधि सेवन गर्नुपर्छ । यस्तै प्रक्रिया रिसको मामिलामा पनि अपनाइने गरिएको डा. ओझा बताउँछन ।
रिस एक किसिमको प्राकृतिक भावना भएकोले यसबाट पूरै मुक्ति पाउन असम्भव छ । रिसाउनु, खुसी हुनु मस्तिष्कको स्वाभाविक भावनासँगै एउटा ठूलो काम हो । सोच्नु, सम्झिनुजस्तै अनुभव गर्नु पनि मस्तिष्कको काम हो । रिस मस्तिष्कको अनुभव गर्ने कामअन्तर्गत पर्छ ।
यदि रिसका कारण व्यक्तिविशेषले आफू वा अर्कालाई नोक्सान पुर्‍याउन थाल्यो भने, दैनिक कामकाजमा असर पर्न थाल्यो भने, पतिपत्नी लगायत व्यक्तिविशेषको सम्बन्धमा तलबितल पर्न थाल्यो भने, लेखाइपढाइ, काम गर्ने वातावरण प्रभावित हुन थाल्यो भने रिस सामान्य भावनामा मात्र सीमित नभएर रोग वा समस्यामा परिणत भइसकेको बुझ्नुपर्छ । यस्तो अवस्था भोगिरहेकाहरूले मनोचिकित्सककहाँ जतिसक्दो चाँडो जानु जरुरी रहेको डा. ओझा औंल्याउँछन् ।
‘रिसले गर्दा उत्पन्न बेचैनीका कारण शरीर सिरिङङ हुने गर्छ, अनुहार रातोपिरो हुन्छ, मांसपेसी तन्किन्छ र रिसको मात्रा बढी भए भेटिए जति सरसामान तोडफोड गर्न मन लाग्न थाल्छ,’ डा. ओझा भन्छन्, ‘कहिलेकाहीँ रिस तनावको एउटा रूपमा समेत देखिन सक्छ ।’
रिस मस्तिष्कभित्रको रासायनिक असन्तुलनका कारण उठ्छ । यस्तो समस्या कसैकसैमा वंशानुगत रूपमा हुन सक्छ । यस्ता व्यक्तिमा रिस स्वभावकै रूपमा विकसित हुने सम्भावना पनि हुन्छ ।
 
यस्तै रक्सी, चुरोट, कफी, अन्य अम्मलका कारणसमेत मस्तिष्क उत्तेजित हुन्छ र रिस उठ्ने गर्छ । ‘अम्मलीहरूलाई रिस बढी उठने गर्छ,’ ओझा भन्छन्, ‘रिसलाई नियन्त्रण गर्ने प्रयास बारम्बार असफल भएर दैनिकी प्रभावित हुन लागे मनोचिकित्सकको सल्लाह लिनु उपयुक्त हुन्छ । मनोचिकित्सकले जीवनशैली कसरी परिवर्तन गर्न सकिन्छ, केही टिप्सका माध्यमले रिस नियन्त्रणमा राख्न कसरी राख्न सकिन्छ भन्ने सिकाउँछन् । यसबाट पनि सफलता नमिले काउन्सिलिङ र औषधिसहितको उपचार प्रक्रिया आवश्यक हुन्छ ।’
रिसको रासायनिक समीकरण
मस्तिष्कभित्र रासायनिक असन्तुलनले रिस उत्पन्न हुन्छ । व्यक्तिविशेषलाई रिस उठदा मुटुको चाल बढ्नुका साथै हातखुट्टामा रक्तसञ्चार तीव्र हुन सक्छ ।
रिसको अवस्थामा एड्रिनल हार्मोन तीव्र गतिले निस्किन्छ । यो हार्मोनले मानिसलाई तुरुन्त कुनै कडा, बलशाली प्रतिक्रिया दिन तयार गर्छ । रिस बिस्तारै बढ्न लाग्दा शरीरमा अन्य रसायनसमेत निस्किन थाल्छन् । यी रसायनले शरीरलाई ऊर्जायुक्त पार्छन् ।
रिसको अवस्थामा तन्त्रिका तन्त्रमा ‘कार्टिसोल’ जस्ता केही अन्य रसायनसमेत निस्किन थाल्छन् । मस्तिष्कमा निस्किने यो रसायनले मस्तिष्कलाई उत्तेजित राख्नुका
साथै शरीरलाई लामो समयसम्म प्रभावित राख्छ ।
केही रोगमा समेत रिस
डा. ओझाका अनुसार, केही रोग लाग्दा रिस उठने समस्या बढ्न सक्छ । यस अन्तर्गत बाइपोलर मेनिया, डिप्रेसनमा व्यक्तिविशेष चाँडै रिसाउँछन् । उनीहरूमा रिसलाई सहन सक्ने क्षमता कम हुन्छ ।
मन डराउने समस्या (एङजाइटी) मा समेत रिस उठ्ने गरेको पाइएको छ ।

व्यक्तिविशेषलाई सबै शक्ति आफूमा भएको उन्माद भएको अवस्था अर्थात् कडा खालको ‘मेनिया’ मा समेत अत्यधिक रिस उठ्ने गरेको छ ।
यति मात्र नभई, सामाजिक अनुशासनभन्दा बाहिर जाने व्यक्ति (एन्टी सोसल पर्सनालिटी) को रिस नियन्त्रण गर्न नसक्ने खालको हुन्छ ।
रिस प्रबन्धन
मायो फाउन्डेसन फर मेडिकल एजुकेसन एन्ड रिसर्चको तथ्यपत्र अनुसार, रिस प्रबन्धन भनेको आफूभित्र रिस उठाउने संकेतहरूको पहिचान गरेर यसबाट जोगिने प्रक्रिया हो । यस अन्तर्गत रिस उठाउने संकेतहरूको पहिचान गर्दै र आफूलाई शान्त राख्दै रिस उठ्ने विषयप्रति सकारात्मक हुन सिक्नु नै रिसको प्रबन्धन हो ।
रिस त्यतिखेरसम्म सामान्य स्वस्थ भावना हो, जतिखेरसम्म तपाईंले यसलाई उपयुक्त रूपमा व्यक्त गर्ने प्रक्रिया जान्नुहुन्छ । मायोको अनुसार, हरेक व्यक्तिको रिस प्रबन्धन गर्ने प्रक्रिया फरकफरक हुन सक्छ । तर यो प्रक्रियालाई चुस्त बनाउन मनोचिकित्सकको सल्लाह लिए झन् राम्रो हुन्छ ।
मायोका अनुसार, तपाईंलाई
आफ्नो रिसमा नियन्त्रण अर्थात् पकड रहेकामा निरन्तर विश्वास हुनुपर्छ । आफूलाई रिस उठ्ने र उठाउने कुराहरूको ज्ञान अत्यावश्यक छ । कुनकुन कुराले तपाईलाई रिस उठ्छ भन्ने पहिचान गर्नुस् । रिस उठ्दा आफूमा हुने शारीरिक र भावनात्मक परिवर्तन (जस्तै : तीव्र गतिले गाडी चलाउनु आदि) को पहिचान गर्नुपर्छ । आफूलाई रिस उठेको लाग्नासाथ यसबाट आफू पूर्ण अप्रभावित रहने प्रयास गर्नुपर्छ । यसमा विज्ञहरूको सल्लाहसमेत प्रभावकारी हुन्छ ।
रिस उठ्दा
रिस उठ्नासाथ तुरुन्त प्रतिक्रिया दिनु हुँदैन । रिस उठेपछि एकदेखि सय वा दुई सयसम्म गन्ती गर्नुस् र त्यसपछि तपाईंलाई जे उपयुक्त लाग्छ, जवाफ फर्काउनुस् । यस्तो भएपछि रिस नियन्त्रण हुनुका साथै तपाईंले फर्काउने जवाफसमेत नियन्त्रित र उपयुक्त हुन्छ ।
डा. ओझाका अनुसार, रिस उठ्दा हामी त्यसैसँग बग्ने गर्छौं । अर्थात्, रिसकै एउटा अंग हुन्छौं । यसैले रिसलाई चिन्नुपर्छ । आफूलाई रिस उठेको थाहा हुनासाथ, तपाईं र रिस दुवै दुइटा वस्तु भएको अनुभव गर्नुस् । अनि रिस आफैँ मत्थर हुँदै जान्छ । आफूभित्र उठेको रिसलाई तर्कका माध्यमले समेत कम गर्न सकिन्छ । तर्क गर्दा हरेक प्रश्नको जवाफ पाइन्छ र रिस आफैँ कम हुन थाल्छ ।
‘रिस नउठोस् भन्नको लागि आत्मबल बलियो बनाउनुपर्छ,’ डा. ओझा भन्छन्, ‘तपाईं यति निरीह नहुनुस् कि जोसुकैले तपाईंलाई रिस उठाउन सकून् । तपाईं आफ्नो मालिक स्वयं हो, अरूलाई आफ्नो मालिन बन्न नदिनुस् । आफ्नो मनमस्तिष्कमा आफ्नो मात्र नियन्त्रण चल्न दिनोस् । अरूलाई तपाईंलाई रिस उठाउन सक्ने हैसियत राख्न नदिनुस् ।’
वास्तविकता स्वीकार गर्ने गर्दा पनि रिस नियन्त्रित हुन्छ । मानिसले आफ्नो छेउछाउको वस्तु एउटा सीमाभन्दा बढी परिवर्तन गर्न सक्दैन । अझ तपाईं अरूलाई परिवर्तन गर्न सक्नुहुन्न । डा. ओझाका अनुसार, जुन अवस्था परिवर्तन गर्न सकिँदैन, त्यसलाई स्वीकार गर्नु पनि सफल जीवन बाँच्ने ओखती नै हो ।
मानसिक शान्ति ल्याउने प्रक्रियाहरू समेत रिस कम गर्न प्रभावकारी हुन्छन् । योग, व्यायाम आदिको नियमित अभ्यासले पनि रिसको प्रबन्धन गर्न सकिन्छ ।
Previous
Next Post »