दंगाग्रस्त क्षेत्र टीकापुरमा २४ घण्टे कफ्र्यु आदेश जारी



 कैलाली जिल्ला प्रशासन कार्यालयले दंगाग्रस्त क्षेत्र टीकापुरमा २४ घण्टे कफ्र्यु आदेश जारी गरेको छ । यस्तै जिल्लाकै भजनी त्रिशक्ति नगरपालिका क्षेत्रमा पनि शनिवार विहान ८ बजेदेखि साँझ ६ बजेसम्मका लागि कफ्र्यू लगाइएको छ । कफ्र्यूका कारण श्रीकृष्ण जन्माष्टमी र सुदुर पश्चिमको गौरा पर्व प्रभावित भएको छ । 
कफ्र्यू र निषेधाज्ञ जारी गरेपछि कैलालीको धनगढी, टीकापुर लगायतका क्षेत्रमा बसोबास गर्ने सुदूरपश्चिमेलीहरुले यसपालीको गौरा पर्व राम्रोसंग मनाउन नपाउने हो कि भन्ने चिन्ता व्यक्त गरेका छन् ।
कृष्ण जन्माष्टमीको अवसर पारेर शनिवार विहान धनगढीमा रहेको बनदेवी मन्दिर परिसरमा केहि व्यक्तिहरु भगवान श्रीकृष्णको महिमा गाउँदै देउडा खेलिरहेका थिए । पछि विहान ८ बजेदेखि लगाइएको कफ्र्यु र निशेधाज्ञाका कारण समूहमा खेलेर मनाईने देउडा खल्लो बनेको थियो । सुदूरपश्चिमेलीहरुको महान चाड गौरा यसपाली टीकापुरमा घटेको घटना पछि त्यस क्षेत्र र धनगढीमा लगाइएको कफ्र्युका कारण खल्लो भएको स्थानीयको गुनासो छ । त्यसैले प्रशासनले केहि समयका लागि भएपनि कफ्र्युको समय र निषेधज्ञा हटाउनुपर्ने कैलाली बहुमुखी क्याम्पसका प्राध्यापक देवराज अवस्थीले बताउनुभयो । 
सुदुर पश्चिम क्षेत्रको ठूलो पर्व गौराले त्यस क्षेत्रका सर्वसाधारणमा रौनकता ल्याइदिए पनि उत्सवको रुपमा मनाउँन नपाउँदा धेरैले दुख व्यक्त गरेका छन् ।
Previous
Next Post »