सात समुन्द्रपार सुडानमा हाम्रो सेना बडो सानसाथ त्यहाँको द्वन्द्व समाधानमा खटिइरहँदा हामी भने देशमा त्यही प्रकृतिको जातीय द्वन्द्वको रुपरेखा कोर्न व्यस्त छौं। नयाँ देश पुग्दा आफ्नो क्यामेरामा त्यहाँको दृश्य कैद गर्न हामी आतुर हुन्छौं। दक्षिण सुडानको राजधानी जुबाको अन्तर्राष्ट्रिय विमानस्थलमा उत्रेलगत्तै हामीलाई फोटो खिच्न देशभर प्रतिबन्ध लगाइएको जानकारी आयो। अनि सोचें– मैले अब यो देशको दृश्य हृदय र मस्तिष्कमा कैद गर्नुपर्छ।
५८ वर्ष लामो युद्धमा २० लाख मानव संहारपछि सन् २००५ मा युद्धविराम भयो। २०११ मा भएको जनमतसंग्रहमार्फत सुडानबाट टुक्रिएर स्वतन्त्र भएको दक्षिण सुडानलाई आज जातीय द्वन्द्वले ध्वस्त पारेको छ।
देश स्वतन्त्र भएको दुई वर्ष नबित्दै २०१३ मा राष्ट्रपति साल्भाकिर र उपराष्ट्रपति रिक मार्चरबीच द्वन्द्व चर्किएपछि देश गृहयुद्धमा होमियो। ६० भन्दा बढी फिरन्ते जाति रहेको देशमा डिङ्का र नियुर दुई प्रमुख जाति छन्। राष्ट्रपति साल्भाकिर डिङ्का र उपराष्ट्रपति मार्चर नियुर जातिका नेता हुन्। यी दुईबीचको अहं, लोभ र जातीय द्वन्द्वलाई राजनीतिक रंग दिएर दक्षिण सुडान नराम्रो युद्धमा फस्न पुग्यो। गृहयुद्धले करिब १६ लाख मानिस विस्थापित भएका छन् र १० हजारभन्दा बढीले ज्यान गुमाइसकेका छन्।
यस्तो लाग्छ, दक्षिण सुडानले युद्धबाहेक अरू देखेकै छैन। उत्तर र दक्षिण सुडानबीच गृहयुद्ध ३८ वर्ष (१९५५ देखि १९७१ र १९८३ देखि २००५) जारी रह्यो। यो बहुजातीय देशमा डिङ्का र नियुर दुई ठूला समूह हुन्। कुल जनसंख्याको क्रमशः ३६ र १६ प्रतिशत हिस्सा रहेका यी दुई जातिबीचको द्वन्द्वले आज दक्षिण सुडान रोइरहेको छ।
देश स्वतन्त्र हुनुपूर्व सन् १९८३ मा विभिन्न जातिका सैनिकलाई एकीकरण गरी सुडान पिपुल्स लिबरेसन आर्मी (एसपिएलए) गठन गरियो। कमान्डर जोन गाराङले यसको नेतृत्व गरे। करिब डेढ लाख जनशक्तिको एसपिएलए दक्षिण सुडानको राष्ट्रिय सेना बन्यो २०११ मा।
डिसेम्बर २०१३ मा राष्ट्रिय सुरक्षा परिषद बैठकमा राष्ट्रपतिले उपराष्ट्रपतिलाई 'कू' को आरोप लगाउँदै पदच्यूत मात्र गरेनन्, एसपिएलएको नियुर जातिका अधिकृत र जवानहरुलाई निःशस्त्र गरेर निकालिदिए। यस घटनालगत्तै करिब ४० हजारको शक्ति लिएर उपराष्ट्रपति मार्चर बाहिरिए र गृहयुद्ध सुरु भयो।
सन् २०१३ देखि डिङ्का र नियुर एकअर्कालाई सिध्याउन व्यस्त छन्। पुस्तौंदेखिको 'बदलाव' हत्या शृंखला रोकिने संकेत छैन। आफ्नो हजुरबुबालाई अर्को जातिकाले मारेको निहुँमा आज पीडितको नाति हत्याराको परिवारलाई खोजेर मार्ने धन्दामा लागेको छ। राजधानी जुबामा १४–१५ वर्षका केटाकेटी एके ४७ बोकेर डुल्दै गरेका देखिन्छन्। हतियारको ठूलो बजार छ। साना–साना निहुँमा गाली हानेर हत्या गर्ने आपराधिक वातावरण छ, दक्षिण सुडानमा। एक किसिमले सम्पूर्ण जनसंख्या नै सुडानसँग युद्ध गर्दै हुर्किएको हो।
एसपिएलको अहिले पनि ब्यारेक छैनन्। केन्द्रीय कमान्डको निर्णय र सर्वोच्चलाई स्थानीय तहका सेनाले कतिपय ठाउँमा शिरोपर गर्न आवश्यक ठान्दैनन्। सेना आ–आफ्ना टुकुल (स्थानीय घर) मा बस्छन् र युद्धमा निस्कन्छन्। गुरिल्ला युद्धबाट जन्मिएको राष्ट्रिय सेनाको प्रकृति खासै परिवर्तन भएको देखिँंदैन। हातहतियारको निगरानी र सोको प्रयोग आफूखुसी गर्छन्, एसपिएलका सैनिकले।
उता, करिब ४० हजार सैनिक लिएर छुट्टिएका पूर्वउपराष्ट्रपति रिक मार्चर देशको जनसंख्याको १६ प्रतिशत रहेकेा नियुर जातिको नेताका रुपमा चिनिन्छन्। देश स्वतन्त्र हुनुपूर्व उनी अर्को सैनिक संगठनको नेतृत्व गर्थे। र, सो संगठनले सुडानी राष्ट्रपति अल वासिरको सहयोगमा हजारौं डिङ्का र अन्य जातिका मानिसको हत्या गरेको थियो। यी हरफ लेख्दै गर्दा उनको सेनाले दक्षिण सुडानको केही क्षेत्रका डिङ्का सैनिक र सर्वसाधारणको हत्या गरेको समाचार आइरहेका छन्।
करिब ९० प्रतिशत जनता घुमन्ते छन्। गाईबस्तु आफैंसँग लिएर हिँड्छन्। गाईका लागि एक समूहले अर्को समूहको हत्या गर्ने परम्परा छ। जसले धेरै गाई दिन सक्छ, उसैले छोरी विवाह गर्न सक्छ। विवाहको समयमा आफूसँग भनेजति गाई नभएमा अर्को समूहको गाई लुट्न एके–४७ जस्ता अत्याधुनिक हतियार लिएर जान्छन्। एक जातिको गाई लुटेर अर्को जातिले लगेपछि हिंसा–प्रतिहिंसाको स्वरुपले त्यहाँ सजिलै जातीय रंग लिने रहेछ। गाई यी फिरन्ते जातिका निम्ति प्रतिष्ठा, दूध र मासुको पर्याय हुन्।
दक्षिण सुडानको प्रमुख आयस्रोत नै तेलबाट उठ्ने आम्दानी हो। तर, सुडानसँगको सिमाना तेलको आम्दानी बाँडफाँटका विषयले उग्र रूप लिएपछि दुवै देशले सो सम्पदाको फाइदा लिन सकेका छैनन्। त्यसमाथि तेल बढी भएका प्रान्तमा पूर्वउपराष्ट्रपतिको नियुर जातिको दबदबा छ। उनीहरुले सो प्रान्तलाई अघिल्लो साता भएको शान्ति सम्झौतामा आफ्नो नियन्त्रणमा राखेकाले राष्ट्रपतिको डिङ्का जाति खुसी छैनन्। र, यो सम्झौताको भोलिपल्टै दुई समूहबीच हत्या शृंखला सुरु भएको छ।
दक्षिण सुडानको माटो अत्यन्त उर्वर छ तर जातीय द्वन्द्वले खेतीपाती गर्नुको अर्थ छैन। अर्को जातिका समूहले लुटेर लगिदिन्छन्। पानी निकाल्न जमिन खन्दा तेल निस्कने देशका अधिकांश जनता वैदेशिक सहयोगको खाद्यान्नमा बाँचेका छन्। विश्व खाद्य संगठनले मात्र १५ लाख मानिसलाई खाद्य सहयोग गरिरहेको छ दक्षिण सुडानमा। जुबाको विशाल अन्तर्राष्ट्रिय विमानस्थलमा एकाध प्लेन र हेलिकप्टरबाहेक अन्य सबै रेडक्रस, विश्व खाद्य संगठन, संयुक्त राष्ट्रसंघ र अरू अन्तर्राष्ट्रिय संस्थाका प्लेन थिए।
संयुक्त राष्ट्रसंघको मुख्यालयबाहिर करिब ४० हजार आन्तरिक शरणार्थी बसिरहेका छन्। जातीय हिंसाका डरले उनीहरु घर फर्कन सक्ने अवस्था छैन। पूर्वमन्त्री, सेनाका जर्नेल–कर्नेलसमेत शिविरमा दयनीय जीवन जिउन बाध्य छन्। समय–समयमा दुई जातिबीच हिंसात्मक झडप पनि हुने रहेछ शिविरभित्रै। आफ्नो भएको सारा सम्पत्ति अर्को जातिका सेनाले लुटेपछि यी दक्षिणी सुडानी छाक टार्नै बाह्य सहयोग लिन बाध्य छन्। राजनीतिको माथिल्लो तहमा भइरहेको खिचातानीलाई जातको ककटेल मिसाएर दक्षिण सुडानका नेताले जनतालाई मदहोस पिलाइरहेका छन्।
जुबा सहरमा कडा सुरक्षाबीच डुल्दै गर्दा त्यहाँको अराजकता, गरिबी र हिंसामा मैले आफ्नै देश देखिरहेँ, पूरै साता। मलाई लाग्यो, जातीय द्वन्द्वको खेती गर्न कति सजिलो छ। दक्षिण सुडानका अबोध बालबालिका हातमा एके ४७ लिएर हिँडेको देख्दा मलाई जुम्ला र विराटनगरमा हाम्रा बालबालिकालाई बन्दमा प्रयोग गर्दै गरेको दृश्यले रिंगटा लगायो।
कुल जनसंख्याको १५ प्रतिशतसँग मात्र मोबाइल फोन रहेको यो देशलाई गरिबी र जातीय हिंसाले लामो समयसम्म पोल्ने निश्चित छ। छिमेकी देश युगान्डाले राष्ट्रपति र उनको डिङ्का जाति र सुडानले उपराष्ट्रपति र उनको नियुर जातिलाई हतियारलगायत अन्य सहयोग प्रदान गरेका छन्। तसर्थ यो जातीय द्वन्द्वले एक किसिमले क्षेत्रीय रुप पनि लिएको छ।
लुकिछिपी एकाध फोटो खिच्नेबाहेक मैले मेरो फोनमा दक्षिणी सुडानको धेरै दृश्य कैद त गर्न पाइनँ तर मस्तिष्कमा त्यहाँका एक–एक दृश्यले झस्काउँछ। जातीय हिंसाले कति छिटो देश कंकाल बन्दोरहेछ,
दक्षिण सुडान छाड्नै लाग्दा नेपाली शान्ति सेनाको नयाँ कमान्ड सम्हाल्न पुगेका गणपति रोशन खड्काले भने, 'हामी यहाँ शान्ति कायम गर्छौं। तपाईंहरु देशमा शान्ति ल्याउनुस् र एक वर्षमा हामी फर्कंदा नेपाल दक्षिण सुडान नबनोस्।'
खड्काका शब्दहरु मेरो कानमा प्लेनभरि छचल्किइरहे।
के गर्दैछ नेपाली सेना दक्षिण सुडानमा?
राष्ट्रसंघको दक्षिण सुडान मिसन (अनमिस) २०११ देखि त्यहाँ कार्यरत छ। र, करिब १२ हजार ५ सय शान्ति सेनामध्ये १७ सय नेपाली सेना तैनाथ छन्, दोस्रो ठूलो फौजको रुपमा।राष्ट्रसंघ महासचिव बान कि मुनको विशेष दूत एलेन मारग्रेथ लोजले नेपाली सेनाको साहस, धैर्य, अनुशासन र उच्च लगनशीलताको खुबै प्रशंसा गरिन्। उनले नेपाली शान्ति सेनामा महिलाको सहभागिता उदाहरणीय भएको बताइन्। ३५ दिन लगाएर राजधानी जुबाबाट ९९७ किमी टाढा १२ सय टन खाद्यान्न नाइल नदीबाट पुर्यारएर हाम्रो सेनाले त्यहाँ भोकमरी मात्र टारेन, संयुक्त राष्ट्रसंघबाट वाहवाहीसमेत कमायो। ६० देशका कुनै पनि फौजले आँट गर्न नसकेको र पानीमा काम गर्ने अनुभव नभएको हाम्रो सेनाले 'वार्ज अपरेसन' सफल पारेको उदाहरण अनमिसका उच्च अधिकारीबाट सुन्न पाउँदा गर्व लाग्यो।
१६ महिनाको कार्यकाल सफल पारी फर्किएका कमान्डर भुवन खत्री वार्ज अपरेसनले दक्षिण सुडानमा नेपाली सेनाले उच्च सम्मान पाएको बताउँछन्। चिनियाँ र बंगलादेशी शान्ति सेनाजति हातहतियार र स्रोत नहुँदानहुँदै पनि नेपाली सेनाले दक्षिण सुडानमा उदाहरणीय काम गरेको छ। गाईको लेनदेन होस् या शरणर्थी शिविरमा हुने दंगा र सरकारी र पूर्वराष्ट्रपतिको सेनाबीच भइरहने भिडन्त नियन्त्रण गर्ने जोखिपूर्ण काममा दिनरात खटिएका छन् हाम्रा दाजुभाइ दक्षिण सुडानमा।
'नेपाली शान्ति सेनाले हामीलाई अनन्य मित्रका रुपमा सहयोग गरेको छ,' चिनियाँ शान्तिसेनाका प्रमुख वाङ जेनले हामीलाई भने। भर्खरै शान्ति सेनामा प्रवेश गरेको चीनले नेपाली सेनाको अनुभवलाई बुझ्ने, सोध्ने र सिक्ने कार्य गर्दैछ। चीनले पनि नेपाली सेनालाई दंगा नियन्त्रण र अन्य क्षेत्रमा सहयोग गर्दै अघि बढ्ने बाचा दिए वाङले, हाम्रो सम्मानमा दिएको रात्रिभोजमा।
कैलालीको बीभत्स घटना भइरहँदा हामी जुबाको अन्तर्राष्ट्रिय विमानस्थलमा दक्षिण सुडानको अर्को ठाउँ रुमबेक जाने सुरसारमा थियौं। सँगै रहेका हाम्रो सेनाका साथी हामीसँगै अत्यन्त गह्रौं मन लिएर सवार गर्दै थियौं। 'विडम्बना, हामी अफ्रिकाको एउटा देशमा जातीय द्वन्द्व मत्थर पार्न दिनरात खटिएका छौं। देश भने यहीँको बाटो पच्छ्याउन खोज्दैछ,' नेपाली सेनाका एक अधिकृतले भने।
शान्ति सेनाको टिममा भेटेनरियनसमेत समावेश गरी स्थानीय जनताको गाई र बाख्राको उपचार गरिदिने, पानीकुवा खनिदिने, बाटो बनाइदिने र पुलिस चौकीसमेत निर्माण गरिदिएर दक्षिण सुडानको जनताका मन जितेका छन् हाम्रो सेनाले। विमानस्थलमा कार्यरत स्थानीयले समेत नेपाली भाषामा हामीलाई स्वागत गरे।
सात समुन्द्रपारको देशमा हाम्रो सेना बडो सानसाथ त्यहाँको द्वन्द्व समाधान गर्न महत्वपूर्ण भूमिका खेल्दै गर्दा हामी भने देशभित्र त्यस्तै प्रकृतिको जातीय द्वन्द्वको रुपरेखा कोर्न व्यस्त छौं।
Sign up here with your email




ConversionConversion EmoticonEmoticon