मोती जयन्तीको अवसरमा नेपाल प्रज्ञा प्रतिष्ठान र नेपाली लेखक संघ नुवाकोटको आयोजनामा नुवाकोटको बट्टारमा आयोजित गजल प्रतियोगितामा श्रीधर पाण्डे उत्कृष्ट भएका छन्।
'मोतीरामको व्यक्तित्वको विभिन्न आयाम, चर्चा र उनको गजलकारिताबारे विचार मन्थन तथा खुल्ला गजल प्रतियोगिता' विषयमा शुक्रबार आयोजित कार्यक्रममा उनले प्रथम स्थान हासिल गरेका हुन्। मनु विद्रोही, भगवती लामा, सिद्धनारायण आचार्य र संगीता पनेरु क्रमशः द्वितिय, तृतिय सान्त्वना विजेता भए।
गजलकारत्रय पुरु लम्साल, राबत र बाबु त्रिपाठीको निर्णायक मण्डलमा थिए। प्रज्ञा प्रतिष्ठानका उपकुलपति डा. विष्णुविभु घिमिरेले प्रथम, द्वितिय, तृतिय र सान्त्वनालाई क्रमश तीन हजार, दुई हजार, पन्ध्र सय र पाँच/पाँच सय रुपैयाँ सहित प्रमाणपत्र, केही गजल र कविताका पुस्तक पुरस्कारस्वरुप प्रदान गरेका थिए।
कार्यक्रममा डा. ज्ञानुवाकर पौडेलले भने नेपाली गजल र मोतिराम भट्टबारे आफ्ना धारणा राखेका थिए। डा. शैलेन्दुप्रकाश नेपालले मोतीराम भट्टका बारेमा कार्यपत्र प्रस्तुत गरेका थिए भने साधना प्रतिक्षाले कार्यपत्रमाथि टिप्पणी गरेकी थिइन्।
कार्यपत्र प्रस्तुत गर्ने क्रममा शैलेन्दु प्रकाश नेपालले भानुभक्तलाई गर्भबाट बाहिर ल्याउने काम नै मोतिराम भट्टले गरेको विचार राखेका थिए। उनले मोतीरामलाई कुन समयमा कस्तो काम गर्नुपर्छ भन्ने थाहा भएको, अरुलाई सम्मान गर्ने, कर्मशिल र सचेत व्यक्ति रहेको कुरा कार्यपत्रबाट पेश गरेका थिए।
यसैबीच, प्रतियोगिताको नतिजा घोषणापछि बोल्दै प्रज्ञा प्रतिष्ठानका उपकुलपति डा. घिमिरेले प्रतियोगी गजलकारहरुलाई गजलमा भाव आएको तर, कलात्मकता सुधार्न सुझाव दिँदै प्रतिष्ठानले देशभरका साहित्यमा रुचि राख्नेहरुलाई सहयोग गर्ने वचन दिए ।
Sign up here with your email


ConversionConversion EmoticonEmoticon