आङकाजी शेर्पा २० हजार धरौटीमा रिहा

काठमाडौं : सामाजिक सञ्जालमा जातीय विद्देष फैलाएको आरोपमा पक्राउ परेका आदिवासी जनजाति महासंघका पूर्वमहासचिव आङकाजी शेर्पा धरौटीमा रिहा भएका छन् ।

शेर्पालार्इ जिल्ला अदालत काठमाडौंले २० हजार धरौटी लिएर रिहा गर्न सोमबार आदेश दिएको हो ।

संघीय समाजवादी फोरम नेपालका केन्द्रीय सदस्य अजम्बर काङमाङ रार्इले आङकाजीलार्इ अदालतले २० हजार धरौटी लिएर सादा तारेखमा रिहा गर्न आदेश दिएको जानकारी दिए ।



महानगरीय प्रहरी परिसर काठमाडौंले आङकाजीविरुद्ध विद्युतीय कारोबार एेन अन्तर्गत अदालतमा मुद्धा चलाएको थियो ।

केही समयदेखि प्रहरीको निगरानीमा पर्दै आएका उनले पछिल्लो पटक थरुहटबाट भदौ ७ गते टीकापुरमा एसएसपीसहित ८ प्रहरी र एक बालक मारिएको घटनामा सुरक्षानियकायलाई नै विवादमा तान्ने गरी स्टाटस लेखेपछि प्रहरीले पक्रेको थियो ।





टीकापुर घटनापछि फेसबुकमा उनले लेखेको ‘टीकापुर घटनाका १३ रहस्य’ शीर्षकको स्टाटसमा उनले प्रहरीबाटै थारुका घर जलाइएको र थारु समुदायका छोरीलाई बलात्कार गरेको गम्भीर आरोप लगाएका थिए ।

उनले एसएसपी लक्ष्मण न्यौपानेले थारु आन्दोलनकारीमाथि गोली हान्न आदेश दिँदा नमान्ने प्रहरी जवान रामबिहारी थारुलाई इन्सपेक्टर बलराम विष्ट र केशव विष्टले गोली हानी मारेको अर्को संगिन आरोप लगाएका थिए ।

यि दुई आरोप फेसबुकको स्टाटसबाट लगाएपछि प्रहरीको माथिल्लो निकायकै आदेशमा आङकाजी खोरमा पुगेका हुन् । अपराध महाशाखाले विद्युत्तीय कारोबार ऐन वमोजिम आङकाजीलार्इ पक्रेको थियो ।
Previous
Next Post »