गुल्मीमा नरोपीकनै उत्पादन हुन्छ आलु




भाद्र २०, २०७२- नरोपीकनै आलु उत्पादन हुन्छ। सुन्दै अचम्म लागे पनि जिल्लाका दुर्गम गाउँहरूमा नरोपीकनै बारीमा आलु उम्रिने गरेको छ। त्यो पनि कहिलेकाहीं होइन वर्षौंपहिलेदेखि निरन्तर। यसरी फल्ने आलुको बजारमा माग पनि उत्तिकै बढ्दो छ।
जिल्लाका दुर्गम गाउँहरू अर्खाबाङ्ग, हाङ्दी, दर्लिङ्ग, मलायागिरी, म्यालपोखरी, अग्लुङ्ग लगायत किसानका बारीमा वर्षौंदेखि नरोपीकनै उत्पादन हँुदै आएको छ। आलु खन्ने बेला बारीमै छाडिने पुरानो आलु उम्रने र फल्ने गरेको हो। वर्षातको समयमा सवारी साधनसमेत नपुग्ने गाउँका अधिकांशको आम्दानीको स्रोत पुरानो बिउबाटै फल्ने आलु हो।
उचाइमा रहेको जमिनमा बारीमै छाडिएका पुरानो बिउबाट फल्ने गरेको आलु अन्यत्रको भन्दा स्वादिलो पनि छ। बाबुबाजेका पालामा बारीमा रोपिएको आलु अहिलेसम्म पनि निरन्तर फल्दै आएको अर्खबाङका लक्ष्मणप्रसाद अर्यालले बताए।
उनले भने, ‘प्राय: फागुनमा आफैं उम्रने आलु साउनको अन्तिम सातातिरबाट खन्न सुरु गर्छौं।’ खन्ने क्रममा बारीमा छाडिएका आलु बिउको रूपमा रहन्छ। फागुनमा मकै रोप्न बारी जोतेपछि पुन: उम्रन सुरु हुन्छ। ‘हाम्रो यो चलन धेरै पुरानो हो,’ उनले भने, ‘मैले जान्दादेखि नै गाउँमा कसैले पनि आलु रोप्ने गरेका छैनन् तर, बारीमा फलेकै छ।’
स्थानीय किसानको अनुभवमा मलिलो र खुकुलो माटो भएकोले बारीमै छाडिएको आलु त्यसरी उम्रने र फल्ने गरेको हो। गाउँका तीन सयजना हाराहारी किसानले यस्तो आलु उत्पादन गरेर बेच्दै आएको अर्खाबाङ ९ का छविलाल भट्टराईले बताए।
‘हाम्रा पुर्खाहरूले नै रोपेको आलु हो,’ उनले भने, ‘पुरानो बिउ र उच्च पहाडी क्षेत्र भएकाले पनि यहाँको आलु धेरैले मन पराउने गरेका छन्।’ नरोपी मकै लगाएकै बारीमा फल्ने आलु बेचेर किसानले कम्तीमा २५ देखि ५० हजार रुपैयाँसम्म आम्दानी गर्ने गरेको उनले बताए।
‘आजभोलि त बजारमा पुग्नै छोड्यो’, उनले भने, ‘माग बढ्दो छ।’ उनका अनुसार गाउँबाट प्रतिकिलो ३५ रुपैयाँ र बजारमा आएपछि ५० देखि ६० रुपैयाँसम्ममा आलु बिक्री हुने गरेको छ।
आलुखेतीको चलन पुरानो भए पनि सबैले आलुसँगै मकै लगाउने गरेको अर्खाबाङ ६ का रेशमबहादुर घर्तीले बताए। मलिलो माटो भएकाले आलु र मकै राम्रै फल्ने गरेको छ। ‘एकैपटकमा दुई खेती गर्दा कहिलेकाहीं आलुमा रोग लाग्ने गरेको छ,’ उनले भने, ‘त्यसको पनि हामी किसानले घरेलु प्रविधिबाटै उपचार गर्ने गरेका छौं।’
आलुखेतीबाटै खर्च चलाउँदै आएका बाँझकटेरी १ का बृजबहादुर खत्रीले अन्य आलुको तुलनामा पुरानो र मकैभित्र फल्ने आलु धेरैले स्वादिलो मान्ने बताए। ‘हाम्रो त खान्की नै यही हो,’ उनले भने, ‘बाबु बाजेको उपहार भएकाले मकैभन्दा आलु खेतीलाई नै बढी प्राथमिकता दिन्छौं।’
खाद्यान्न अभाव हुने यस क्षेत्रका बासिन्दाले वर्षातको समयमा बढी आलु खाने गर्दछन्। ‘बजार पठाउँदा प्रतिकिलो ५० रुपैयाँमा बिक्छ,’ उनले भने, ‘त्यसले गाउँलेलाई चामल किन्न सजिलो हुन थालेको छ।’ गाउँलेहरूले २/३ वर्ष यतामात्रै बजारमा लगेर आलु बेच्न थालेका हुन्।
वर्षमा ३ देखि ५ क्विन्टलसम्म बेच्न पाइने आलु रोप्नै नपर्नु अचम्म लाग्ने बाँझकटेरीकै सरस्वती श्रीसले बताइन्। उनले भनिन्, ‘बिहे भएर यहाँ आएदेखि मलाई यो आलु फल्ने तरिका अचम्म लागिरहन्छ।’
कृषि विकास कार्यालयका वरिष्ठ कृषि विकास अधिकृत चेतनाथ अधिकारीले पश्चिमी गाउँहरूमा पुस्तौंपुस्तादेखिको आलु नरोपी फल्ने चलन अनौठो भएको बताए। ‘मैले पनि गाउँमै पुगेर सबै निरीक्षण गरें,’ उनले भने, ‘स्थानीय जातको आलु पुस्तौंपुस्तादेखि फल्दै आएको रहेछ।’
खुकुलो र मलिलो माटोसँगै वातावरणअनुकूल भएकाले बिउ बारीमै रहने र त्यहीँ उम्रँदै फल्दै गर्ने क्रम चल्दै आएको पाइएको उनले बताए। ‘उत्पादन पनि राम्रो छ,’ उनले भने, ‘स्वादिलो भएकाले बेच्न बजार ल्याउनै नपर्नेगरप् गाउँमै मारामार हुँदो रहेछ।’
Potato is growing in gulmi without planting any seeds
Previous
Next Post »