१०३ नेपालीले पाए प्याराग्लाइडिङ उडाउने लाइसेन्स

तीन नेपाली महिलाले पाए पहिलोपटक लाइसेन्स


  • प्याराग्लाईडिङ पाईलटहरुलाई लाइसेन्स वितरण गरिँदै । तस्वीर : उमेश पुन
सन्देश श्रेष्ठ
२८ भदौ, पोखरा । प्याराग्लाईडिङ पाईलटहरुलाई सोमवार पोखरामा पाइलटको ईजाजत पत्र (लाईसेन्स) वितरण गरिएको छ । नेपाली पाईलटहरु १ सय ३ जनालाई सोमवार एकैदिन लाईसेन्स वितरण गरिएको हो ।
हवाई खेलकुद संस्था (ना) को आयोजनामा आयोजित लाईसेन्स वितरण कार्यक्रममा नेपाल नागरीक उड्डयन प्राधिकरणका महानिर्देशक सञ्जिव गौतमले ३ जना महिलासहित १ सय ३ जना पाईलटहरुलाई अस्थायी प्याराग्लाईडीङ पाइलटको लाईसेन्स वितरण गरेका हुन् ।
नेपाल नागरीक उड्डयन प्राधिकरण पोखरा नागरीक उड्डयन कार्यालयले लाईसेन्स जारी गरेको हो । उक्त लाईसेन्स केहि दिन अघि अनौपचारीक रुपमा पोखरा नागरीक उड्डयन कार्यालयका प्रमुख दिपक बरालले नेपालकै पहिलो प्याराग्लाईडिङ पाईलट राजेश वमजनसहित ४ जनालाई प्रदान गरेका थिए ।
तीन नेपाली महिलाले पाए पहिलोपटक लाइसेन्स





एक सय ३ जना पाईलटहरु मध्ये प्रतिभा बोगटी, तृशा श्रेष्ठ र कृशु पौडेल तीन जना महिलाले नेपालमै पहिलोपटक उक्त इजाजत पत्र लिएका हुन् ।
कार्यक्रममा प्राधिकरणका महानिर्देशक गौतमले प्याराग्लाईडिङ खेल पछिल्ला क्रममा हृवात्तै बढेको बताउँदै यसको नियमनका लागि आफूहरुले भूमिका खेलेको स्पष्ट पारे ।
उनले भने ‘यस साहसिक खेलले नेपालको सिंगो पर्यटनको गतिविधिलाई समेत बढाएको छ, यसलाई अब हामीले गम्भीर रुपमा हेर्नु पर्दछ, कुनै एक पाईलटको गलत कृयाकलापले सिंगो पर्यटन क्षेत्रलाई असर पार्ने भएकोले ईजाजत प्राप्त भएका व्यक्तिहरु बढी संबेदनशिल भएर अनुशासनमा रहेर आफ्नो पेशा संचालन गर्नु होला ।’
पोखरामा नयाँ प्याराग्लाईडिङ कम्पनी नथपिने
महानिर्देशक गौतमले अब कुनैपनि हालतमा पोखरा क्षेत्रमा नयाँ प्याराग्लाईडिङ कम्पनी नथपिने बताए । उनले पोखरामा प्याराग्लाईडिङ कम्पनी दर्ता नै रोकेको जानकारी दिए ।
पोखरा पर्यटन पुनर्जागरण समितिका संयोजक गणेशबहादुर भट्टराईले आवश्यकता भन्दा बढी प्याराग्लाईडिङ कम्पनी दर्ता गर्न दिन नहुने भन्दै पाईलट र यात्रुको सुरक्षामा बढी सावधानी अपनाउनु पर्नेमा जोड दिए । एकजना पाईलटको दुर्व्यवहारले गर्दा सिंगो पर्यटन क्षेत्रलाई असर पार्ने भएकाले यस खेलको ईजाजत पत्र लिनु सवारी चालक अनुमति पत्र भन्दा धेरै फरक भएको धारणा राखे ।

Previous
Next Post »