अख्तियारले तानेपछि खेलकुदमन्त्रीले भने, ‘केशव विष्टलाई कारवाही नै गरेको थिइँन्’ -

एक वर्षे कारवाहीको कुरा चलेपछि विष्टपनि झोक्किए

काठमाडौं– खेलकुदमन्त्री पुरुषोत्तम पौडेलले राष्ट्रिय खेलकुद परिषद्को सदस्य–सचिव नियुक्ति प्रकरणमा अख्तियारले आफुलाई दोषि ठहर्याएकोबारे आफ्नो गम्भिर ध्यानाकर्षण भएको बताएका छन् । 


आईतबार खेलकुद परिषद्मा आयोजित पत्रकार सम्मेलनमा मन्त्री पौडलेले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सत्य तथ्य आधार र प्रमाण बिना आफूलाई दोषि ठहर्याएको भन्दै आपत्ति समेत जनाए ।
आफूले खेलुकद विकास ऐनअनुसार केशव कुमार विष्टलाई सदस्य–सचिवमा नियुक्त गरेको दावी गर्दै भने, ‘कानुन सम्वद तरिकाबाट भएको निर्णयलाई अख्तियारले ‘अनुचित कार्य’ भन्दै निर्णय गर्न मिल्ने अवस्थानै हुँदैन ।’
मन्त्री हुनुअघि आफू अध्यक्ष रहेको नेपाल खेलकुद महासंघले १७ औं एशियाली खेलकुदका दौरानमा चार खेलाडीहरुलाई कोरियामै भगाएको भन्दै विष्टलाई कारवाही गरेको तथ्य समेत लुकाउँदै पौडेलले भने, ‘यो कुरा शत प्रतिशत गलत हो, निज केशव कुमार विष्ट माथि कुनै पनी प्रकारको कारवाही भएको छैन ।’
त्यतिवेला खेलाडी भगाएको सम्वन्धमा खेलकुद परिषद्ले विष्ट अध्यक्ष रहेको नेपाल सेपाकताक्रो संघलाई सोधनी समेत नगरिएको उल्लेख गर्दै पौडेलले भने, ‘बरु मेरो नक्कली हस्ताक्षर गरेर कसैले ६ महिने कारवाहीको विज्ञप्ती संचार माध्यमलाई पठाएको रहेछ, त्यसबारे छानविन गर्दै छु ।’
आफूमाथि विगतमा कारवाही भएको प्रसंग आएसँगै खेलकुद परिषद्का सदस्य–सचिव केशव कुमार विष्ट पनि झोक्किएका थिए । पत्रकारले मन्त्रिलाई कारवाही बारे प्रश्न सोधेपछि विष्टले झोक्किँदै भने, ‘त्यतिवेला कोही एकजनामाथि पनी कारवाही भएको थिएन्, तर अहिले आएर म माथि अन्याय भएको छ ।’
गएको भदौ २५ गते अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खेलाडी भगाउनेलाई कानुन विपरीत सदस्य–सचिवमा नियुक्ति दिएको भन्दै मन्त्रि पौडेललाई कारवाही गर्न प्रधानमन्त्री कार्यालयलाई निर्देशन दिएको थियो ।
इन्चोन एसियाडमा चार खेलाडी भगाएर पैसा खाएको भन्दै नेपाल खेलकूद महासंघले
विष्टलाई एक वर्ष कुनैपनि खेलकूद गतिविधिमा संलग्न हुन नपाउने गरि प्रतिबन्ध लगाएको थियो । त्यतिबेला पौडेल महासंघको अध्यक्ष रहेका थिए ।

Previous
Next Post »