धेरैलाई स्तब्ध पार्ने गरी सार्वजनिक भएको एक मृत बालकको तस्बिरले सामाजिक सञ्जालमा चर्चा पाएसँगै विभिन्न कलाकारहरुले ती बालकका विभिन्न स्केच बनाएर उनलाई श्रद्धाञ्जली दिएका छन्। कतिपयले आफ्ना स्केचमा बालकको आत्माको शान्तिको कामना गरेका छन्। केहीले आक्रोश पोखेका छन्। केहीले मानवता समुन्द्रमा डुबेर यसरी तैरनु नपरोस् भनेर कामना गरेका छन्।
सिरियाबाट बुवाआमासँगै शरणार्थीको रुपमा ग्रिस जान लागेका ३ वर्षका अलान कुर्दीको मृत शरीर टर्कीको एक समुन्द्री किनारमा तैरिरहेको अवस्थामा खिचिएको तस्बिर केहीदिन अघि सार्वजनिक भएको थियो। अलान आफ्ना बुवाआमा र ५ वर्षका दाजुसँगै डुंगामा थिए। डुंगा पल्टेर अन्य १२ जना ग्रिस जान लागेका सिरियाका शरणार्थीका मृत्यु भएको थियो। डुंगा दुर्घटनामा अलानका बाबु भने बाँच्न सफल भएका थिए।
उनका बुवा अब्दुल्लाह कुर्दीले अब छोराको शवलाई सिरिया लिएर अन्तिम संस्कार गर्ने भएका छन्। सिरियाको कोर्वानी शहरका स्थायी बासिन्दा कुर्दी परिवारले ग्रिस जानका लागि यस अघि पनि एजेन्टलाई दुई पटक पैसा बुझाएका थियो। दुवै पटक एजेन्टले धोका दिएपछि उनीहरु यसपाली डुंगामा भूमध्यसागर पार गरेर ग्रिस जान लागेका थिए। तर दुर्भाग्य डुंगा पल्टियो। रातको समयमा डुंगा डुब्नै लाग्दा उनले आफ्नी श्रीमतीको हात समातेका थिए। तर छोराहरु छुटे। ‘सबैजना कराइरहेका थिए। मैले श्रीमती र छोराहरुको आवाज सुन्न सकिनँ‘ कुर्दीले घटना बारे बताए। डुंगा पल्टँदा कुर्दीका २ छोरा र ३५ वर्षकी श्रीमतीको ज्यान गयो। उनी भने बाँच्न सफल भए।
कुर्दीले मिडियासँग कुराकानी गर्दै भने– हामी आफ्नो देशमा भएको द्वन्द्वबाट आजित भएर शरणार्थीको रुपमा जान लागेका थियौं। हामी दुनियाँलाई हाम्रो देशको अवस्थाबारे ध्यानाकर्षण गर्न चाहन्छौं, हामीलाई हेरेर अरुहरुले पनि बुझुन् र अन्त यस्तो नहोस्। यो नै अन्तिम घटना बनोस्।
मध्यपुर्वी देश सिरियामा केही वर्षदेखि चलेको राष्ट्रपति बसर अल असादका समर्थक र विद्रोहीबीचको द्वन्द्वका कारण कैंयौ मानिस देश छोडेर भाग्न बाध्य छन्।
Sign up here with your email



ConversionConversion EmoticonEmoticon