सिंहदरवारबाट कमल थापाको घोषणा : राजसंस्था र हिन्दु राज्यको प्रस्ताव दर्ता गराइयो (भिडियो सहित)

काठमाडौं, १७ भदौ । राप्रपा नेपालले परिमार्जित विधेयकप्रति राजसंस्था र हिन्दु राज्य लगायतका बुंदाहरु समेटेर संशोधन प्रस्ताव दर्ता गराएको छ ।
सिंहदरवारस्थित पार्टीको संसदीय दलको कार्यालयमा बिहीबार बसेको पार्टी पदाधिकारी र संसदीय दलको संयुक्त बैठकपछि राप्रपा नेपापले सनातन हिन्दु राज्य र राजसंस्था नयाँ संविधानमा समेट्नु पर्ने भन्दै संसद सचिवालयमा संशोधन प्रस्ताव दर्ता गराएको हो ।

सो सम्बन्धमा जानकारी गराउन आयोजित पत्रकार सम्मेलनमा पार्टीका अध्यक्ष तथा संसदीय दलका नेता कमल थापाले परिमार्जित विधेयकको भाग १ को धारा ४ मा संशोधन गर्दै ‘नेपाल राज्य : नेपाल स्वतन्त्र, अभिभाज्य, सार्वभौमसत्ता सम्पन्न, समावेशी, प्रजातान्त्रिक सनातन धर्मसापेक्ष हिन्दुअधिराज्य हो’ हुनु पर्ने संशोधन प्रस्ताव दर्ता गराएको जानकारी दिए ।
राष्ट्रपतिको स्थानमा ’श्री ५ को सरकार’ उल्लेख गरिएको संशोधन प्रस्तावमा कार्यकारी प्रमुख प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री हुनु पर्ने उल्लेख गरिएको थापाले जानकारी दिए ।यस्तै राज्यको पुनर्संरचना सम्बन्धी सबै खारेज गरी स्थानीय स्वायत्त शासन प्रणालीको व्यवस्था गर्नुपर्ने उल्लेख गरिएको प्रस्तावमा अन्य विभिन्न बुँदा खारेज गर्दै संशोधन गरिएको छ ।
पत्रकार सम्मेलनमा अध्यक्ष थापाले आवश्यकताको आधारमा राजसंस्थाको एजेण्डा लिएको र राजा को बनाउने भन्ने भन्दा पनि अहिले संस्था जोगाउनु पट्टि लाग्नु पर्ने बताए । कुनै पनि कुरा असम्भव नरहेको भन्दै उनले प्रजातान्त्रिक, लोकतान्त्रिक विधिले आफ्ना एजेण्डा पराजित गरिए स्वीकार्य हुने पनि जानकारी दिए ।
हालै चिकित्सा क्षेत्रमा भएको भनिएको भ्रष्टाचारको विषयमा तत्काल संसदीय छानबिन समिति गठन गर्नुपर्ने र शुक्रबार जुलुस सहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा गएर यस विषयमा तत्काल कारबाही प्रक्रिया अगाडि बनाउन औपचारिक रुपमा लिखित आग्रह गर्ने कार्यक्रम रहेको अध्यक्ष थापाले जानकारी दिए ।


Previous
Next Post »