भाडाको कोख प्रकरणः अस्ट्रेलियाले आफ्ना नागरिक सचेत गरायो


नेपलमा भाडामा कोख लिने (सरोगेसी)को विषयमा विवाद चलिरहेको बेला अस्ट्रेलिया सरकारले आफ्ना नागरिकलाई ट्राभल एड्भानेइजरीको माध्यमवाट सचेत हुन आग्रह गरेको छ।
भाडामा कोख लिने विषयमा नेपालको सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेपछि अस्ट्रेलियन सरकारले कानुनी रूपमा खुल्ला नरहेको ब्यहोरा सहितको सूचना जारी गरेको हो।
भारत र थाइल्यान्डमा प्रतिवन्धित भएपछि भाडामा कोख लिने ठूलो गिरोह हाल नेपालमा सक्रिय थियो। भाडामा कोखका लागि नेपाल जाने अभिभावकलाई नेपालमा यसको वैधानिक प्रावधानबारे बिश्वस्त हुन समेत अस्ट्रेलिया सरकारले आब्हान गरेको छ।
अस्ट्रेलियाले नागरिकको नाममा जारी गरेको ट्राभल इड्भाइजरीमा भनिएको छ, ‘हाम्रा नागरिकलाई यस बिषयमा उच्च सावधानी अपनाउन हामी निरन्तर सुझाब दिन्छौ।’
प्रधानन्यायाधीश कल्याण श्रेष्ठको एकल इजलासले भदौको पहिलो साता सरोगेसी सेवाबाट बच्चा जन्माउने खालको सेवा दिने संस्थालाई सो सम्बन्धी कुनै पनि सेवा प्रदान नगर्न नगराउन अन्तरिम आदेश जारीगरेको थियो। अन्तरिम आदेशमा भनिएको छ,‘सरोगेसी सेवाबाट जन्मिएका बच्चाको कानुनी रुपमा आमा, बाबुको दायित्व के हुने, आमाको कोख व्यापारिक प्रयोग गर्न मिल्ने वा नमिल्ने भन्ने प्रश्न निरुपण नभएसम्म सो सेवा सञ्चालन नगर्न नगराउन र सञ्चालन गर्ने अनुमति नदिनू।’
सरोगेसी सेवा सम्बन्धमा नेपालमा कुनै कानुनी व्यवस्था नभएकाले प्रजनन सेवाको नाममा कृत्रिम रुपमा अवैध बच्चा उत्पादन गरी उद्योग सञ्चालन गरेजस्तो मानव बेचबिखन गर्न अस्पतालले नपाउने भनी आदेश दिनुपर्ने माग गर्दै अधिवक्ता पुष्पराज पाण्डेयले यही भदौ ६ गते रिट निवेदन दायर गरेका थिए।
नेपालमा भारतीय एजेन्टद्धारा चलाउँदै आएको यो ब्यापारमा करौडौको सौदा भएपनि कोख लिने आमाहरुले भने चारदेखि पाँच लाख पाउने गरेको तथ्य समेत खुलेको छ। सामान्यता अस्ट्रेलिया र अमेरिका जस्ता देशहरुवाट लाखौ डलरमा सम्झौता भएपनि अस्पताल र एजेन्टको ठूलो कमिसनपछि आमाहरुको हातमा मात्र केहि हजार डलर पर्ने गरेको छ।
‘यो एउटा अपराध नै हो ,९ महिना कोखमा राखेर हुर्काउने आमाको ज्यान समेत तल माथि हुन सक्छ, यसलाई समयमै रोक्नुपर्छ,’ यस सरोगेसीविरुद्ध कडा कलम चलाउँदै आएका मेलर्वनका नेपाली मुलका डा.अनुपम पोखरेलले भने,‘यो त सरासर सोझा साझालाई फकाएर आफ्नो स्वार्थ पूर्ति गर्ने र कमिशनको चक्करको खेल हो। यसले हाम्रो समाजमा नराम्रो असर पर्छ।
डा.अनुपम गरिब महिलाको भविष्य र लालनपोषणबारे समेत प्रश्न चिन्ह खडा गर्छन्। संक्रमणकालबाट गुज्रिरहेको हाम्रो मुलुक जहाँ सरोगेसीसम्बन्धी कानूनको अभाव भइरहेको बेला निश्चय नै अन्तराष्ट्रिय सरोगेसी एजेन्टहरुले अवसर छोपेका हुन्। सबैभन्दा ठूलो चासो भनेको बच्चा जन्मिइसेपछि सरोगेट आमा र उनीहरुको शारीरिक तथा मानसिक अवस्था हो।
अहिले करिब ६० देखि ८० अस्ट्रेलियाली जोडिका सरोगेट बच्चाहरु नेपालमा रहेका आमाका कोखमा रहेको अनुमान छ। अदालतको फैसला पछि यिनको भबिष्यबारेमा पनि अन्यौल छाएको छ। अहिले आएर ब्यापारीक भाडाको कोख रोक्ने आदेशले यसअघिको बिषयमा भने के गर्ने हो त्यो स्पष्ट हुन सकेको छैन। कम खर्चका कारण व्यापारिक सरोगेसीका लागि नेपाल पछिल्लो समयमा लोकप्रिय गन्तव्य बनेको हो। २५ अप्रिलको भूकम्पपछि भारतीय सरोगेट आमाहरुबाट जन्मिएका बच्चाहरुलाई काठमाडौँबाट इजरायल लगिएपछि यस्तो खुलासा भएको हो।
Previous
Next Post »