म हजुरको राज्यको सबैभन्दा ठूलो अपराधी डा. गोविन्द केसी हुँ, मलाई उडाइदिनुस् तोपले


आज १२ दिन भो डा. केसी अनशनमा बसेको । के डा. केसी मात्र हुन् जसले यो देशको र हामी जनताको चिन्ता गर्नुपर्ने ? उनको बारेमा हामी केही नबोल्ने ? आउनुहोस्, हाम्रो आवाज बुलन्द बनाऔँ । त्यसै मर्न नदिऔँ/बचाऔँ, हामीलाई बचाउन खोज्ने यो माटोका सच्चा सपुतलाई ।

म डा. गोविन्द केसी


महाराज !
म डा. गोविन्द केसी
म हजुरको राज्यको सबैभन्दा ठुलो अपराधी
म हजुरको राज्यको सबैभन्दा ठुलो भ्रष्टाचारी
वा म हजुरको राज्यको सबैभन्दा ठुलो टाउको दुखाइ
हो महाराज !
मैले गरेकै हुँ अपराध
जस्तो कि,
हजुरको गरिबी दर घटाउने मनशाय जानिनँ
उल्टै गरिबहरुलाई सिटामोल र जीवनजल बाँडिदिएँ
हजुरको कपाल दुख्दा हजुर त गैजानुभो उडेर
म दौडिँदै गएँ भेरी, कर्णाली र अनकन्टारतिर
कति घाउहरु निचोरेँ, निकालेँ पिप, रगतका धारा
र दलिदिएँ हृदयको मल्हम घाउघाउमा
कति मलमुत्र छामें हातैले र बाँडिदिएँ खुसीका औषधिहरु
कतिलाई आफ्नै आयुको एक टुक्रा उपहार दिएँ र
पुछिदिएँ आँखाका आँशुहरु
महाराज !
मैले यस्ता अपराध कति गरेँ गरेँ
आफैँले कम खाएर भोकको दबाइ खुवाएँ भोका बिरामीहरुलाई
आफ्नै हौसलाको सिरिन्जबाट झिकेर आशाको रगत
बाँडिदिएँ ओइलाएर झर्न लागेका कोपिलाहरुलाई
र भनेँ- ‘यो देशका लागि बाँच्नुपर्छ तिमी
यो देश तिम्रो पनि हो ।’
महाराज !
मलाई हजुरको जस्तो सुनको शौचालयमा शौच गर्ने शोख भएन
स्वर्ण दरबारको बार्दलीबाट तल आफ्ना आसेपासेहरुलाई हेर्ने रहर भएन
भतिजा भान्जा र ज्वाइँका नाममा विदेशमा अर्बौं राख्ने चाहना पनि भएन
न सयर गर्नै मन लाग्यो सररररर जहाजमा
म त आफ्नै जीवन भाँचेर, भर्न चाहेँ गरिबहरुका हृदय
हो महाराज !
मबाट गल्ती भो
यी हेर्नु न, मैले त यिनै औषधिहरुसँग बिताइदिएँ जिन्दगी र
जीवनभर बिरामीहरुको आँखामा आफ्ना लालाबाला देखेँ
जीवनभर यही देशलाई आफ्नो घर देखेँ
प्रत्येक बिरामीहरुलाई आफन्त देखेँ
र लागिरहेँ जीवनभर आफ्नै मक्किएको हाड घोट्न
तैपनि
घट्दै घटेनन् तन दुखेका बिरामी
झन् झन् बढिरहे मन दुखेका बिरामी
त्यसैले, ती बिरामीभन्दा बरु मै मर्छु भनेर मैले
अलिअलि नियमका कुरा गरेँ
विधि, विधान र गरिब भलाइका कुरा गरेँ
अकालमै दुःखीहरु नमरुन् भनेँ
यही सबैभन्दा ठुलो अपराध भो
हो महाराज, म अपराधी हुँ
“मरे मरोस्” भन्दै त्यसै नछाडिदिनुस् मलाई
होलान्, सिहंदरबारमा पुराना तोपहरु
मेरै छातीमा ताकेर पड्काउनुस्
होलान्, पुराना जंगे तरबारहरु
मेरै घाँटीमा निशाना बनाउनुस्
वा तातो तेलले डामेर अनुहार
सिफलमा लगी झुन्ड्याइदिनुस्
किनकि
म डा. गोविन्द केसी
म हजुरको राज्यको सबैभन्दा ठुलो अपराधी
म हजुरको राज्यको सबैभन्दा ठुलो भ्रष्टाचारी
वा म हजुरको राज्यको सबैभन्दा ठुलो टाउको दुखाइ
मजस्तो अपराधी बाँच्न पाउने कुनै अधिकार छैन
Previous
Next Post »