धर्म र संस्कृतिले जीवन्त राखेको सिमसार

नेपाली बृहत् शब्दकोशमा सिमसारलाई पानी नसुक्ने र अलि-अलि झार हुने चिसमिरो जमिन, पनौटे जग्गा, धाप, दल-दल हिलो र पानी भएको ठाउँ भनिएको छ । सिमसारको परिभाषा हेर्दा नेपाली समाजले यसलाई नदी, झरना, ताल, इनार र कुवाको पानीसरह सम्मान नदिएको हो कि जस्तो लाग्छ । तर उच्च हिमाली क्षेत्रदेखि मानवनिर्मित कृत्रिम सिमसार क्षेत्रको अध्ययन गर्दा संस्कृतिका विभिन्न पाटाले यी क्षेत्रलाई जीवन्त र पर्यावरणउपयोगी बनाएको देखिन्छ ।

हिमालदेखि तराईसम्म जम्मा २४२ वटा सिमसार क्षेत्र नेपालमा रहेको प्रमाणित भएको छ । अध्ययन-अनुसन्धानले नेपालमा भएका सम्पूर्ण सिमसार क्षेत्रलाई पाँच तहमा वर्गीकरण गरेको छ ।


उच्च हिमाली क्षेत्रमा रहेका रारा, तिलिचो र फोक्सुन्डो, मध्य पहाडी क्षेत्रमा रहेका फेवा, वेगनास र माईपोखरी अनि तराई क्षेत्रमा रहेका कोशी टप्पु, मानवले दैनिक प्रयोगको लागि बस्तीवरिपरि बनाएका पोखरी, पानी भएका धान खेत, त्यस्तै कृत्रिम ढंगले बनाइएका जलभण्डार, सिँचाइका पानी सबै नै सिमसारका विविध क्षेत्र हुन् ।

नेपालमा सूचीकृत भएका सिमसार क्षेत्र अर्थात् रामसार क्षेत्रमा कोशीटप्पु, बीसहजारी ताल, घोडा-घोडी ताल, गोक्यो, गोसाइँकुण्ड, जगदीशपुर, से-फोक्सुन्डो ताल, रारा ताल र माईपोखरी पर्छन् । जल, जमिन र जीव सबैको मिलन विन्दु हो सिमसार । त्यसैले यसको जल जीवन्त मानिन्छ ।

संस्कृति र प्राकृतिक प्रणाली सञ्चालन गर्ने एउटा मूल आधार हो सिमसार । १९७१, फेब्रुवरी २ मा इरानमा भएको रामसार कन्भेन्सनमा भएको छलफलपछिको निर्णयले सिमसारको संरक्षण, प्रचार-प्रसार र आवश्यक नयाँ नियमहरू पारित गर्‍यो । रामसारको कन्भेन्सनपछि सिमसार क्षेत्रप्रति मानव समुदायको चासो र उत्तरदायित्व बढ्यो ।

प्राग-इतिहासअनुसार मानवले घुमन्ते जीवन लामो समयसम्म यापन गरेपछि स्थायी बसोवास रोजेको देखिन्छ । त्यही बेला पानीका स्रोतको छेउछाउ मानिसले कृषि गरेर आफ्नो छाप्रो ठडाए । प्रकृतिका विभिन्न तत्त्व र यज्ञप्रधान धर्म अपनाएर जीवनयापन गरे । त्यही बेलादेखि जललाई ईश्वर तत्त्व र जीवनसँग जोडियो । आर्यहरूको दैनिक जीवन स्नान, सेचन र जल अर्पण र तर्पणबाटै सुरु हुन्छ ।

त्यसैले विश्वकै सबैभन्दा अग्लो शिखरहरूको काखमा स्थित सरोवरदेखि समतल भूभागका तालमा धार्मिक र सामाजिक कार्यहरू पनि भइरहेका छन् । यसैले गर्दा जलाशय, ताल, कुण्ड, पोखरी, कुवा, इनार र जलद्रोणीहरूको संरक्षण भइरहेको छ । काठमाडौँमा सिंढी नाखको दिन इनार र मूर्तिहरू सफा गरेर पूजा गर्ने चलनले पनि यस प्रथालाई दिगो संरक्षण दिइरहेको छ ।

विश्वका सबै प्राचीन सभ्यताहरू नदीका तटमा नै मौलाएबाट मानिसले आफ्ना दैनिक आहारा पनि त्यहीँबाट पूर्ति गर्ने गरेको प्रस्ट हुन्छ । हाम्रो संस्कृतिमा धर्मको ठूलो प्रभाव देखिन्छ । धार्मिक चाडपर्व र संस्कारहरू पनि पानीका स्रोतको छेउमा वा पानी छोएर, चढाएर मात्रै प्रारम्भ गरिन्छ ।

पञ्चतत्त्वमध्ये एक तत्त्व पनि पानी भएकाले कोठाभित्र गरिने धार्मिक कार्यमा पनि रेखीमाथि पूर्ण कलश स्थापना गरेर दियो प्रज्ज्वलनपश्चात् सुरु गरिन्छ । छोटो वा लामो यात्रा प्रारम्भ गर्दा शुभ-यात्राको लागि जल भरिएको घडा द्वारको दायाँ-बायाँ राख्ने चलन छ ।

तराई क्षेत्रको प्रसिद्ध छठ पर्वमा जलाशयभित्रै पसेर पूजापाठ गर्ने, नैवेद्य चढाउने एवं उदाउँदो र अस्ताउँदो सूर्यलाई अर्घ दिने गरिन्छ । मिथिलाञ्चलको महान् पर्व छठ (छइठ) को सम्पूर्ण कार्य जलाशयको डिल र पानीमै डुबेर गरिन्छ । षष्ठी तिथिमा नदी, पोखरी, कुवाको घाटमा तयार पारेको पूजा सामग्री अस्ताउँदो सूर्यलाई पानी नै डुबेर अर्पण गरिन्छ ।

प्राकृतिक जलाशय आफ्नो घरबाट टाढा भएमा घरकै आँगन वा बारीमा अस्थायी पोखरी बनाएर पानी जमाएर त्यसमै छठको सम्पूर्ण विधि सम्पन्न गरिन्छ । छठको व्रत सप्तमीको पूजापछि मात्रै पूर्ण हुन्छ ।

सप्तमीको दिन बिहानै सूर्य उदाउनेबित्तिकै जलाशयमै प्रवेश गरेर स्तूति, पाठ र अर्घ दिइन्छ । अर्घपछि डिलमा आएर छठकथा, सूर्य पुराण सुन्ने चलन छ । दशरथ पत्नी कौशल्या, पाण्डव आमा कुन्ती र पत्नी द्रौपदीले जलाशयमा प्रवेश गरेर सूर्य भगवान्को कृपा प्राप्त गरेर छठको व्रत बसेको वर्णन पुराणहरूमा छ ।

अन्य पर्वमा जस्तै छठ पर्वमा पनि ईश्वरप्रतिको कृतज्ञता, पारिवारिक दायित्व, साथीहरूसँगको जमघट र मनोरञ्जन सबैको सम्मि श्रण पाइन्छ । छठ पर्व सम्पन्न गर्न आआफ्नो क्षेत्रका जलाशय सफा-सुग्घर गर्ने र पानीका मुहान, स्रोत सुरक्षित राख्ने कार्यले स्थानीय सिमसार क्षेत्रको संरक्षण भइरहेको छ ।

जनकपुर क्षेत्रमा रहेका सयभन्दा बढी सागरहरूको संरक्षरणको एउटा प्रमुख कारण छठ पर्व हो । ४३८१ मिटरमा अवस्थित मध्य हिमाल क्षेत्रको गोसाइँकुण्ड एउटा महत्त्वपूर्ण र चर्चित तीर्थस्थल हो । रसुवा जिल्लामा पर्ने यस प्रसिद्ध थलो लाङटाङ राष्ट्रिय निकुञ्जभित्र पर्दछ ।

सन् १९७६ मा स्थापना गरिएको निकुञ्जभित्रै पर्ने भएकाले यस कुण्डको संरक्षण भएकै छ । गोसाइँकुण्ड तीर्थ सिलुतीर्थको रूपमा प्रसिद्ध छ । मल्लकालमा राजा र प्रजाहरू यस तीर्थस्थलमा गएका प्रमाणहरू थुप्रै छन् । सिलुतीर्थ नामक नेवारी लोकगीतमा गोसाइँकुण्ड जाँदा ठाँउ-ठाउँमा पर्ने प्रमुख वास, बाटोको स्थिति र सिमसार क्षेत्रको रूपमा रहेको तीर्थस्थलको महत्त्व देखाइएको छ ।

ने.सं ५६७ (सन् १४४६) मा राजा यक्षमल्ल देव ठाकुर शिवलुती (गोसाइँकुण्ड) प्रस्थान गरेर त्यहाँ स्नान, दान-दक्षिणा दिएको उल्लेख सुमती सिद्धान्तको टीकामा छ । प्रताप मल्लले काठमाडौँमा बनाएका रानीपोखरीमा नेपाल र भारतका विभिन्न तीर्थस्थलको जल हालेका थिए ।

५१ वटा तीर्थस्थलको जलमा नीलकण्ठ (गोसाइँकुण्ड) को जल पनि मिसाइएको थियो । पार्थिवेन्द्र मल्ल र महिपतीन्द्र मल्लले नेसं ८०१ (सन् १६८०) मा गोसाइँकुण्डमा स्नान गरेर त्यही कुण्डकै दक्षिणतर्फ सादा शिवलिंग स्थापना गरेका थिए ।

उनीहरूले गोसाइँकुण्डबाट काठमाडौँ फर्किंदा नुवाकोटको भैरवथानमा ६ वटा राँगा र बीसवटा बोका बलि चढाएका थिए । पृथ्वीनारायण शाहले पनि नुवाकोट विजयपछि गोसाइँकुण्डमा स्नान गरेका थिए ।

पृथ्वीनारायणले गुलालराम अवस्थी साधुलाई धैबुङ बिर्ता प्रसन्न भएर दिएका थिए । साधुले आफूले राजाबाट पाएको विर्ता आफ्ना शिष्य जयमंगलको पत्नीलाई दिए । उनले रामचन्द्रको मूर्ति मन्दिरमा स्थापना गरी गोसाइँथान जाने यात्रीलाई खाना र वासको व्यवस्थाको लागि आफूले पाएको बिर्ता दिएका थिए ।

गीर्वाणयुद्धविक्रम शाहको ताम्रपत्रमा पनि गोसाइँकुण्ड जाने यात्रीहरूको व्यवस्थाको व्यहोरा परेको छ । जयमंगलका छोरा ब्रजनाथले गरेको अपराधको दण्डमा सर्वस्वहरण हुँदा पृथ्वीनारायणले दिएका धैबुङको खेत पनि हरियो । यसबाट यात्रीहरूलाई असुविधा भएकाले गीर्वाणकी मुमा सुवर्णप्रभाले धैबुङ गाउँ र त्यहाँको खेत फेरि संकल्प गरेर दान दिएको व्यहोरा ताम्रपत्रमा छ ।


कसैले लोभ-लालचले सदावर्त गुठीको जग्गा हरेमा पञ्चमहापातक लाग्ने र ६० हजार वर्षसम्म नरकमा पर्ने उल्लेख पनि ताम्रपत्रमा छ । लोभानी, पापानी गर्नेलाई श्रीनीलकण्ठको कुदृष्टि पर्ने र गुठीको रक्षा गरेर सदावर्त चलाउनेलाई पञ्चमहाराजग्यको पुण्य र नीलकण्ठको कृपा सुदृष्टि होला भनिएको छ । यसरी ४३८१ मिटर अग्लो स्थानमा रहेको सिमसार नीलकण्ठ (गोसाइँकुण्ड) को प्रसिद्धि र संरक्षण धार्मिक कारणले भएको देखिन्छ ।

सभ्यताले बाहिरी परिचय प्रदान गर्दछ भने अन्तरआत्माको चाहिँ संस्कृतिले गर्दछ । आन्तरिक र बाह्य पर्यटनलाई टेवा पुर्‍याउन संस्कृतिका विविध पक्षको महत्त्वपूर्ण हात हुन्छ । नेपाली समाजमा पनि पानी, गंगाजलले पापलोचन गर्ने विश्वास गरिन्छ ।

पुराणमा वर्णन भएअनुसार राजा भगीरथले खरानीमा परिणत भएका आफ्ना पुर्खालाई उद्धार गर्न स्वर्गबाट गंगालाई पृथ्वीमा ल्याएका थिए । गंगाजी स्वर्गबाट पृथ्वीमा अवतरित हुँदा विभिन्न रोचक घटना भएका छन् । पानीको महत्त्व दर्शाउन यस्ता घटनाले मद्दत पुर्‍याउँछ । पृथ्वीमा राजा भगीरथ शंख बजाउँदै हिँडेपछि गंगा पछि लागिन् । पानीको महत्त्व बुझेकी गंगा घमण्डले आँखै नहेरी बग्दै थिइन् ।

बाटोमा ऋषि जन्हुको आ श्रम थियो । गंगाको पानीको धारले ऋषिको कुटी नै बगाइदियो । जन्हु ऋषिलाई पनि झोक चल्यो र उनले आफूले जानेको योगबलद्वारा गंगालाई पिइदिए । बल्लबल्ल सयौँ वर्षको तपस्यापश्चात् पृथ्वीमा ल्याएको गंगा लोप भएपछि भगीरथलाई पर्नु पिर पर्‍यो ।

उनले आफूले जानेको अनेक स्तुति गाएर ऋषिलाई प्रसन्न पारे । ऋषिले पनि आफ्नो तिघ्रा ठटाएर त्यहीँबाटै गंगालाई बाहिर निकाले । यसरी गंगा (जाह्नवी) फेरि पृथ्वीमा बग्न थालिन् । शुद्ध, पवित्र, सफा गंगा नदी समयसँगै फोहोर र नालीमा परिणत हुन थालिन् ।

मानव सभ्यताको प्रतीकको रूपमा नेपालमा रहेका पानीका मुहान र नदी केही वर्ष अघिसम्म स्वच्छ र प्रदूषणरहित थिए तर निरन्तर बढेको मानवीय अतिक्रमणका कारण दूषित हुँदै गएका छन् । सहरी क्षेत्रमा हिँड्दा दुर्गन्ध आउनसाथ नदी नजिकै छ भनेर बुझिन्छ ।

पश्चिमी मुलुकमा कलकारखानाका फोहोर प्रशोधन गरेर मात्र पोखरी र नदीमा मिसाइन्छ । त्यसैले त्याहाँका पोखरी सिमसार क्षेत्र सफा छन् । नदी, पोखरी, सिमसार क्षेत्रलाई देवीका रूपमा पूजा नगर्ने पश्चिमी समुदायले पनि नदीको पवित्रता बचाउन विभिन्न प्रयत्न गरेका छन् ।

तर हाम्रो शास्त्रले बरोबर पानीका स्रोत र नदीलाई देवी माता भनेर सम्बोधन गर्दा पनि हाम्रा नदी प्रदूषणको चपेटामा परेका छन् । हामीमा आउन नसकेको चेतनाको यो लाजमर्दो उदाहरण हो ।

आज सिमसार दिवसकै अवसर पारेर हामीले जलस्रोतमा प्रदूषण गर्दा उत्पन्न हुने खतराबारे जनचेतना फैलाउनुपरेको छ । कुवा खन्ने, चौतारो र पाटी बनाउने जलद्रोणीमा जल भर्ने, जलघडा दान गर्ने हाम्रो संस्कृतिको अभिन्न अंग हो । पानीका स्रोतको सुुरक्षा, संरक्षण र उपयोग हाम्रो संस्कृतिको महत्त्वपूर्ण पक्ष हो ।

पानीका स्रोतको उचित ढंगले उपयोग गरेमा हाम्रो जीवन सहज हुन्छ । समुद्र, नदी, झरना र पोखरी मात्रै पानीका स्रोत होइनन् । हामीले देख्ने रसिला र चिसा जमिन सिमसार पनि पानीका स्रोत हुन्, उत्पत्ति थलो हुन् भन्ने तथ्य हामीले मनन गर्न आवश्यक छ ।

संस्कृति, पर्यावरण र पर्यटनमा पनि सिमसार क्षेत्रको संरक्षणले ठूलो योगदान पुर्‍याउँछ । यी क्षेत्रमा सिमसारको उपदेयता बढाउन हामी सबैले आआफ्नो घरदैलोबाट प्रयत्न गरिरहनु पर्दछ । हाम्रो देशमा साँस्कृतिक एकता ल्याउन सिमसार क्षेत्रले ठूलो योगदान दिन सक्छ ।

त्यो कपिलवस्तुको जगदीशपुर रामसार (५५६ ऐकड क्षेत्र) क्षेत्र, रसुवाको गोसाइँकुण्ड वा उच्च हिमाली क्षेत्रको फोक्सुन्डो ताल हुन सक्छ । तराईको नदी र पोखरीमा मनाइने छठ पर्व आज रानीपोखरी, कमलपोखरी, टौ दह र नाग दहमा सरेको छ । हाम्रो संस्कृति विस्तारै रूपान्तरण भएर एकताको सन्देश दिँदैछ ।
नदी-किनारमा निर्मित ब्रह्मनालमा अन्तिम अवस्थामा गोडा डुबाएर सुताउँदा पनि मुखमा जल हालेर अन्तिम बिदाइ गरिन्छ । धर्म र संस्कृतिले जीवन्त राखेको सिमसार क्षेत्रलाई हामी सबैले प्रदूषणरहित उपयोगी र जीवनरक्षक बनाउनुपर्छ ।
हाइलाइट
पानीका स्रोतको उचित ढंगले उपयोग गरेमा हाम्रो जीवन सहज हुुन्छ । समुुद्र, नदी, झरना र पोखरी मात्रै पानीका स्रोत होइनन् । हामीले देख्ने रसिला र चिसा जमिन सिमसार पनि पानीका स्रोत हुुन्, उत्पत्ति थलो हुुन् भन्ने तथ्य हामीले मनन गर्न आवश्यक छ ।

Previous
Next Post »