पर्यावरण बहसः अर्घाखाँचीको चुनढुंगामा किन हुँदैछ लफडा ? नेतालाई चन्दा, स्थानीयलाई पर्यावरणको चिन्ता !

अर्घाखाँचीको चुनढुंगा विवाद फेरि चर्चामा आएको छ । ०६८ कात्तिक १८ गतेदेखि स्थगन गरिएको चुनढुंगा उत्खनन पुनः सुचारु गर्न उद्योग मन्त्रालयले र आवश्यक सुरक्षा प्रबन्ध मिलाउन गृह मन्त्रालयले हालै जिल्ला प्रशासनलाई निर्देशन दिएपछि चुनढुंगा उत्खनन् विवाद पुनः चर्चामा आएको हो ।
सरकारले बल प्रयोग गरेर खानी सुचारु गर्न खोज्दा ०६९ हिउँदमा ५५ दिनसम्म खानीमै सुतेर (धर्ना दिएर) जनताले पहाड र पर्यावरणप्रतिको आफ्नो स्नेहलाई व्यक्त गरिसकेका छन् ।
गत वर्ष संसदको वातावरण संरक्षण समितिले शर्त, सहमति र सम्झौताहरु हुबहु कार्यान्वयन गर्न निर्देशन दिएपछि विवाद सेलाएको थियो ।
यद्यपि यही माघ १६ गते अर्घाखाँची जिल्ला प्रशासनसँग स्थानीय जनताले समेत सुरक्षाको माग गरेपछि विवाद केन्द्रतर्फ मोडिएको छ ।यो विवादबारे धेरै अडकलबाजी गरिने गरिन्छ । तर, खासमा विवादको चुरो यस प्रकार छ :
खानी वरपरका स्थानीयबासीहरु कुनै पनि अवस्थामा पुनः चुनढुंगा खानी सञ्चालन होस् भन्ने चाहँदैनन् । त्यसको एउटा मात्रै कारण पर्यावरणको क्षय नै हो । त्योबाहेक अरु कुनै अदृश्य  कारण लुकेको छैन । तर, अर्घाखाँची सिमेन्ट उद्योग यो कुरा सुन्नै चाहँदैन ।
स्थानीय जनता जसरी पनि पर्यावरण बचाउनु पर्दछ भनेर अहोरात्र संघर्ष गरिरहेका हुन्छन् भने उद्योग यो वा त्यो प्रकारले राजनीतिक वा प्रशासनिक लबिङमा लागि रहेको हुन्छ ।
बल प्रयोग गरेर भए पनि ढिलो-चाँडो पहाड भत्काउन सकिन्छ भन्नेमा उद्यनेगपतिहरु छन् । यसको परिणाम यो भएको छ कि खानी उत्खनन् कार्य स्थगन भएको पाँचौं वर्ष लाग्दा पनि विवादको स्थायी समाधान भएको छैन ।
विवादको मुख्य कारण पर्यावरण क्षयीकरण नै हो । सिमेन्ट उद्योगका लागि कच्चा पदार्थ चुनढुंगा उत्खनन् गरिएको छ । त्यसरी उत्खनन् गर्दा घना वनजंगल भएको ठाउँ मरुभूमि जस्तो भएको छ ।
हरिया डाँडाहरु सेता भएका छन् । चारैतिर गेग्रेटो भरिएको छ । खानेपानीका मुहानहरु सुकेका छन् । खानीको फेदमा रहेको ताल तलैया र सीमसार क्षेत्र सुक्दै गएको छ ।
७ वर्ग किलोमिटर क्षेत्रको जैविक विविधता त नष्ट भयो नै, त्यसका आसपासमा रहेका घना वनजंगलमाथि पनि दबाव परेको छ ।
पुरानो वनजंगलसहितको नर्तनाचल पर्वत ध्वस्त भएपछि गाईवस्तुहरु छिमेकी वनजंगलमा जान बाध्य छन्, जसले गर्दा खानी भन्दा बाहिर पनि व्यापक वन विनास भैरहेको छ ।
त्यसरी घना वनजंगल र वनजंगल सहितका पहाडहरु ध्वस्त भएका कारण पर्यावरण चौपट भएको छ । त्यो नै विवादको मुख्य कारण हो ।
उद्योगले कर्मचारीतन्त्र, कार्यपालिका र व्यवस्थापिकाका विभिन्न निकायलाई प्रभाव पारेर निर्णय गराउँदा समेत विवाद समाधान भएको छैन । बरु झन्-झ्न बल्झिदै गएको छ ।
र, सरकार र उद्योग पछि नहटेसम्म यो जारी रहने देखिन्छ । किनकि, स्थानीय जनता ज्यानको बाजी थापेर शान्तिपूर्ण संघर्षमा छन् ।
महाभारत पर्वत र त्यहाँको पर्यावरणको संरक्षणसँग जोडिएका अनगिन्ती रोचक प्रसंग र तथ्य-तथ्यांकहरु छन् । यहाँ त्यसका केही झलकहरु पस्कने सानो प्रयास गरिएको छ ।
Previous
Next Post »