महिना दिन पुग्दा पनि टुक्रिएका मन्त्रालयमा कर्मचारी पुगेनन्

काठमाडौं-महिना दिन बितिसक्दा समेत टुक्रिएका मन्त्रालयमा कर्मचारी पुग्न सकेका छैनन्। कर्मचारीको चाँजोपाँजो मिलाउने सामान्य प्रशासन मन्त्रालयबाट दरबन्दी स्विकृत संख्या पुगेपनि कर्मचारी भने पुगेका छैनन्।


टुक्रिएर नयाँ बनेका मन्त्रालयमा कर्मचारी र बजेट व्यवस्थापन चुनौति बनेको छ। गत पुस ९ गते टुक्रिएका मन्त्रालय अहिलेसम्म व्यवस्थापन हुन सकेका छैनन्।

खानेपानी तथा सरसफाई मन्त्रालयमा अझैसम्म लेखा शाखासम्म स्थापित हुन सकेको छैन। सम्बन्धित मन्त्रालयले सामान्य प्रशासन मन्त्रालयमा कर्मचारीको माग गरिसकेको भएपनि कर्मचारी नआएको गुनासो गरे।

आपूर्ति मन्त्रालयमा दुईजना सहसचिव मध्ये एकजना काजमा पुगेका छन्। बाणिज्य तथा आपूर्ति मन्त्रालयमा कार्यरत रहेका कर्मचारी को कुन मन्त्रालयका भन्ने अझै टुंगोसहितको पत्र पुग्न नसकेको कर्मचारी बताउँछन्।

दुवै मन्त्रालयका लागि कर्मचारीको दरबन्दी भने स्विकृत भैसकेको छ। तर, सबै कर्मचारीलाई पत्र हात परिसकेको छैन। बाँकी कर्मचारी बाणिज्यमै भन्ने पत्र अझै पाएका छैनन्। अझैपनि सामान्य प्रशासन मन्त्रालयले सम्पूर्ण कर्मचारीका लागि सम्बन्धित मन्त्रालयको जिम्मेवारी सहितको पत्र पठाउन सकेको छैन। आपूर्तिमा नतोकिएपछि बाणिज्यमै भन्ने अनुमानमा रहेको बताउँछन् ।

आपूर्ति मन्त्रालयमा सामान्य प्रशासन मन्त्रालयले ३९ जना कर्मचारीको दरबन्दी स्विकृत गरी पठाइसकेको छ । बाणिज्यमा ५६ जनाको दरबन्दी स्विकृत भएको छ । तर, आपूर्तिमा १३ जना कर्मचारी मात्र पदस्थापन भएको प्रशासन शाखाले जनाएको छ । मन्त्रालय संयुक्त रहँदा ९६ जना कर्मचारी दरबन्दीमा थिए ।

कृषिबाट टुक्रिएको पशुपक्षी विकास मन्त्रालयमा पनि कर्मचारी पुगिनसकेको मन्त्रालयका प्रवक्ता श्याम पौडेलले बताए । पशु विकास विभागबाट आउने कर्मचारी आइसकेको र आउन बाँकी रहेको बताए । कानुन मन्त्रालय, महालेखालाई सम्बन्धित कर्मचारी पठाउन पत्र पठाइसकिएको उनले बताए ।

कर्मचारी नियुक्तिमा लामो प्रक्रियाका कारण ढिलाइ भएको अधिकारी बताउँछन् । सम्बन्धित फाँटमा कर्मचारी नहुँदा काम व्यवस्थित बन्न सकेको छैन । सामान्य प्रशासन मन्त्रालयले दरबन्दी सहितको पत्र सबै मन्त्रालयमा पठाइसकिएको दाबी गरेको छ । दरबन्दी स्विकृतपछि किताबखानामा दर्ता प्रक्रियामा रहेको जनाएको छ । प्रक्रिया लामो भएकाले कर्मचारी व्यवस्थापन हुँदै गरेको बताएको छ ।

नयाँ मन्त्रालयले आवश्यक प्रशासनिक बजेटका लागि अर्थमन्त्रालयमा माग गरिएको बताइएपनि अर्थमन्त्रालयमा पुगिनसकेको बताए । 'अझैसम्म केही माग आइसकेको छैन । फुटेका सम्बन्धित मन्त्रालयमा तोकिएका कार्यक्रमकै बजेट बाँडफाँड हुन्छ' अर्थ मन्त्रालयका बजेट तथा कार्यक्रम महाशाखा प्रमुख रामशरण पुडासैनीले बताए ।

Previous
Next Post »