यु–१९ विश्वकपः यी हुन् क्वार्टरफाइनलमा पुग्ने ८ टिम, कसको भिडन्त कोसँग ?

काठमाडौं, माघ २० । बंगलादेशमा जारी यु–१९ विश्वकप क्रिकेट प्रतियोगिताको क्वार्टरफाइनल समीकरण पूरा भएको छ ।

बुधबार भएको समूह ‘बी’को खेलमा पाकिस्तानले श्रीलंकालाई २३ रनले हराएसँगै अन्तिम आठको समीकरण पूरा भएको हो ।

समीकरणअनुसार समूह ‘ए’को विजेता बंगलादेशले समूह ‘डी’को उपविजेता नेपालसँग तथासमूह ‘ए’को उपविजेता नामिबियाले समूह ‘डी’को विजेता भारतसँग खेल्नेछन् ।

त्यस्तै, समूह ‘बी’को विजेता पाकिस्तानले समूह ‘सी’को उपविजेता वेस्ट इन्डिजसँग खेल्दा समूह ‘बी’को उपविजेता श्रीलंकाले समूह ‘सी’को विजेता इंग्ल्यान्डसँग खेल्ने तय भएको छ ।

क्वार्टरफाइनलका खेलहरु शुक्रबारदेखि हुनेछन् । शुक्रबार नेपाल र बंगलादेश भिड्ने कार्यक्रम छ ।

नेपाल समूह चरणमा न्यूजिल्यान्ड र आयरल्यान्डलाई हराउन सफल भएको थियो भने भारतसँग पराजित भएको थियो ।

त्यस्तै, बंगलादेशले साविक विजेता दक्षिण अफ्रिका, नामिबिया र स्कटल्यान्डलाई पराजित गरेको थियो ।

१६ टिमले सहभागिता जनाएको प्रतियोगिताको पहिलो चरणबाटै बाहिरिएका आठ टिमबीचको प्लेट क्वार्टरफाइनलमा भने बिहीबार दक्षिण अफ्रिका र आयरल्यान्ड तथा न्यूजिल्यान्ड र स्कटल्यान्ड भिड्दै छन् । 
Previous
Next Post »