कावासोतीमा थपियो १२ करोडको खानेपानी आयोजना


बढ्दो शहरीकरणले गर्दा कावासोती नगरमा खानेपानीको माग बढ्दै गएपछि यस बर्ष झण्डै १२ करोड रुपैयाको नयाँ आयोजना थप गरिएको छ । २०६१ सालमा सुरु भएको कावासोती साना शहरी खानेपानी आयोजनाले ११ बर्षमै यहाँको खानेपानी आपूर्ति गर्न नसकेपछि नयाँ आयोजना सुरु गरिएको कावासोती खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाका अध्यक्ष बिष्णुप्रसाद भुसालले बताउनुभयो । केरुङ्गेखोला, नहर, पूर्वटोला, आन्तरिक बोरिङ्ग, कोइलापानीबाट प्रति सेकेण्ड ९१ लिटर पानी आपूर्ति भएको कावासोतीमा प्रतिसेकेण्ड थप ३५ लिटर पानीको आवश्यकता देखिएको छ । एसियाली विकास बैंक एडिबीको ७० प्रतिशत अनुदान नगर विकास कोषको २५ प्रतिशत ऋण र उपभोक्ताको ५ प्रतिशत लगानीमा ११ करोड ५८ लाख ४२ हजार सात सय ३६ रुपैयाँको लागतमा प्रति सेकेण्ड २५ लिटर पानी आपूर्ति गर्ने गरी नयाँ आयोजना सुरु गरिएको अध्यक्ष भुसालले बताउनुभयो । ‘४५० घनमिटरको ट्यांकीमार्फत प्रति सेकेण्ड २५ लिटर पानी दिन्छौं’ अध्यक्ष भुसालले भन्नुभयो ‘सबै स्रोतहरुबाट तत्कालको लागि प्रति सेकेण्ड ११६ लिटर पानी आपूर्ति हुन्छ त्यसले ड्राइ सिजन बाहेकका बेलामा पुग्छ ।’ नयाँ आयोजनाले ठुलो राहात दिएको जानकारी दिँदै उहाँले भन्नुभयो ‘१२ बर्ष भित्र तिर्ने गरी पाँच प्रतिशत ब्याजमा ऋण लिन सकेकाले आयोजना सुरु भएको हो ।’ कावासोती नगरभित्र झण्डै १५ हजार घरधुरी रहेको छ । यो आयोजनामार्फत ५१ हजार जनसंख्याले पिउने पानी पाउँछन् । नौ महिनामा सक्ने गरी आयोजना सुरु भएकाले पानीको आपूर्ति सहज हुने भएको भन्दै नगरबासी खुसी भएका छन् । यो कावासोती साना शहरी खानेपानी आयोजना नेपालका २९ साना शहरी मध्ये ब्यवस्थापकीय हिसाबले उत्कृष्ट रहेकाले सरकारलेसमेत सम्मान गरेको छ ।
Previous
Next Post »