चितवन, माघ १८ । विपी कोइराला मेमोरियल क्यान्सर अस्पताललाई चिनियाँ सरकारले एक करोड ४० लाख युआन अर्थात् २३ करोड ३० लाख रूपैयाँ बराबरको महत्वपूर्ण उपकरणहरु सहयोग गरेको छ । अस्पतालका कार्यकारी निर्देशक डा. चीनबहादुर पुनका अनुसार सघन उपचार कक्षलाई आवश्यक पर्ने उपकरणसहित २७ प्रकारका उपकरण सहयोग गरेको छ । उनका अनुसार सबैभन्दा महंगो अत्याधुनिक ६४ ‘स्लाइसको सिटिस्क्यान’ प्रदान गरेको छ । जसको मूल्य १३ करोड १७ लाख १३ हजार रूपैयाँ पर्दछ । अस्पतालमा रहेको सिटिस्क्यान बिग्रिएपछि विगत दुई वर्षदेखि बिरामी निजी अस्पतालमा जान बाध्य भएका थिए । त्यसैगरी ‘मोमोग्राफी ब्रेष्ट’ एक्सरे मेसिन पनि चीन सरकारले उपलब्ध गराएको छ । जसको मूल्य एक करोड ९७ लाख १३ हजार पर्दछ । विगत नौ वर्षदेखि सो उपकरण बिग्रिएर थन्किएपछि बिरामी बाहिर जान बाध्य भएका थिए । कार्यकारी निर्देशक पुनका अनुसार चीन सरकारले पाँच लाख ७५ हजार ७५० पर्ने बिना चिरफार शल्यक्रिया गर्न सकिने लेजर मेसिन, २२ लाख ७४ हजार पर्ने इन्डोस्कोपी, २७ लाख सात हजार पर्ने फोक्सोको क्यान्सर हेर्न मिल्ने ब्रोन्कोस्कोपीलाई, ५७ लाख ८४ हजार पर्ने प्रोटेवल डिजिटल अल्ट्रासाउण्ड मेसिन, रु २४ लाख ९१ हजार पर्ने आन्द्राको क्यान्सर हेर्ने क्रोनोस्कोप मेसिन सहयोग गरेको छ । त्यसैगरी प्याथोलोजीमा आवश्यक पर्ने माइक्रोस्कोप, टिस्यू इन्ब्रिडिङ मेसिन, प्रोसेसर, अटो स्टेन्ड उपलब्ध गराएको छ । यस्तै, एक करोड ४० लाख ८१ हजार पर्ने डिजिटल मोबाइल एक्सरे, ८३ लाख ५८ हजार पर्ने अत्याधुनिक ल्याप्रोस्कोपी, दिमागको क्यान्सरको शल्यक्रिया गर्न मिल्ने ब्रोनियोटोमी मेसिन, शल्यक्रिया गर्दा गर्दै बायोस्पिको रिपोर्ट निकाल्न मिल्ने क्रोयस्टापलगायतका उपकरण रहेको उनले बताए । त्यसैगरी, पाँच शैय्याको सघन उपचार कक्ष निर्माणका लागि आवश्यक पर्ने मनिटर, भेन्टिलेटर, डिफ्यूलेटर जस्ता उपकरण पनि चीन सरकारले उपलब्ध गराएको छ । ती सामग्री क्यान्सर अस्पतालमा तीनवटा कन्टेनरमा आइपुगेको कार्यकारी निर्देशक पुनले बताए । चीनमा दुईहप्ता बिदा परेकाले बिदा लगत्तै प्राविधिक टोलीले उपकरण जडान गरिदिने उनले बताए । उपकरण जडानसँगै सञ्चालन प्रक्रियाका बारेमा तिनै प्राविधिकले यहाँका कर्मचारीलाई प्रशिक्षण समेत दिनेछन् । कार्यकारी निर्देशक पुनले फागुन महिनाभित्रमा सबै उपकरण सञ्चालनमा आउने बताए । जसका कारण चार गुणा महँगो शुल्कमा बाहिरी अस्पतालमा सेवा लिन बाध्य बिरामी लाभान्वित हुने भएका छन् । अस्पतालमा हालसम्म सघन उपचार कक्ष छैन । उपकरण पाएसँगै सघन उपचार कक्षको सेवा समेत बिरामीले पाउने भएका छन् । चीन सरकारकै सहयोगमा २०५२ असोज २५ गते डेकियरबाट क्यान्सर अस्पतालले सेवा सुरु गरेको हो । सुरुका वर्षमा आठ नौ हजार बिरामी आउने भए पनि गत आर्थिक वर्षमा एक लाख १२ हजारले सेवा लिएको कार्यकारी निर्देशक पुनले बताए । जसमध्ये सात हजार नयाँ क्यान्सरका बिरामी रहेका थिए । अस्पतालको स्थापनादेखि नै चीन सरकारले एकजना टोली प्रमुखसहित १५ जना चिकित्सकको टोली क्यान्सर अस्पतालमा पठाउँदै आएको छ । अस्पतालमा उपकरणको अभाव भएपछि स्वास्थ्य मन्त्रालय, अर्थ मन्त्रालय हुँदै चिनियाँ राजदूतावासमार्फत सरकारसँग उपकरण माग गरेबमोजिम सहयोग प्राप्त भएको कार्यकारी निर्देशक पुनले बताए । सन् २०१५ को जनवरीबाट उपकरण माग गरिएकामा त्यसको एक वर्षमा चिनियाँ सहयोग प्राप्त भएको उनले बताए । सरकारको एक सय शैय्या स्वीकृत भएर पनि १९४ शैय्या सञ्चालन हुँदै आएको क्यान्सर अस्पतालले २०० शैय्या थप गर्ने तयारीका साथ भवन निर्माण गरिरहेको छ । नेपालका अतिरिक्त भारतीय सीमा क्षेत्रबाट समेत ठूलो सङ्ख्यामा बिरामी उपचारका लागि यहाँ आउने गर्दछन् ।
Sign up here with your email


ConversionConversion EmoticonEmoticon