मधेसको माग पूरा गरे देशै रहँदैन

देशै नरहने माग कसरी पूरा गर्ने ? संविधान जारी भएसँगै नेपाली जनताको चाहना देशमा शान्ति छाओस्, सबै मिलेर बस्ने वातावरण बनोस् भन्ने थियो । तर, संंविधानमा असन्तुष्टि जनाउँदै मधेसी दलले आन्दोलन गर्दा जनजीवन अस्तव्यस्त भएको छ । संविधानका विभिन्न बिषयमा असहमति हुँदाहुँदै पनि राप्रपा नेपालले त्यस्तो बाटो रोजेन । गैर–संवैधानिक प्रकृयाबाट देशै टुक्राउने लक्ष्य राखेर मधेसी मोर्चाले गरेको आन्दोलनप्रतिचाहिं माथापच्ची गरिरहनु परेको छ । यो समस्या भने राजनीतिक दलहरुकै कारण भएको हो । जसको सुरूवात दोस्रो जनआन्दोलनपछि गिरिजाबाबु र उहाँको नेतृत्वमा बनेको सरकारबाट भएको हो । गिरिजाबाबुले राजालाई किनारा लगाउने अनि समस्याको समाधान गर्ने भनेर ८ बुँदे सम्झौता गरे । अहिले मधेसी दलको माग त्यही ८ बुँदे सम्झौतामा आधारित छ । यदि उक्त सहमति ठीक थियो भने गिरिजाबाबुले गरेको सम्झौताको आधारमा माग पूरा गरिदिन किन आनाकानी किन भन्ने प्रश्न उठ्छ । तर यथार्थ यो हो कि ती माग पूरा गरेको खण्डमा देशै रहँदैन । अनि कसरी माग पूरा गर्न सकिन्छ । समस्याको चूरो यो हो । सबै दलले नेपाली जनतालाई केन्द्रबिन्दुमा राखेर काम गर्नुपर्छ । यो राजनीतिको सामान्य नियम हो । तर जनताको पक्षमा भनिएको मधेसी आन्दोलन केहि सीमित व्यक्तिको स्वार्थका लागि मात्रै देखिएको छ । विदेशीको सहाराबाट नेपाली जनताको माग पूरा हुन सक्दैन । जनताको चाहना बुझ्न बरू जनमत संग्रह गर्न सकिन्छ । जनताको अभिमत स्वीकार नगर्ने अनि विदेशीको मत लिने परिपाटी मधेस आन्दोलनमा देखिएको छ । यो गलत छ । ०६२–६३ सालमा भएको आन्दोलन राजाको निरंकुशताको अन्त्यको लागि मात्रै थियो । तर गणतन्त्र, धर्मनिरपेक्षता भन्ने कुरा बीचमा घुसाइयो । अहिलेको समस्याको अर्को कारण त्यो पनि हो । गणतन्त्र आएपछि राजाले गर्न अस्वीकार गरेका काम धमाधम गरिए । त्यसैमध्येको एउटा हो ४० हजार भारतीयलाई नागरिकता दिने गरि गरिएको निर्णय । त्यही कारणले अहिले तराइमा बल्झिएको हो । सरकाले यस्ता बिषयलाई पुनः छलफल गरेर गहन छानबिन गर्नुपर्छ । विदेशीको हातमा पुगेको नागरिकता खारेज गर्नुपर्छ । त्यसपछिमात्रै समस्या समाधान हुन्छ
Previous
Next Post »