कार्यगत एकता गर्दै तीन माओवादी बिद्यार्थी संगठन आन्दोलनमा

१९ माघ। काठमाडौं । तीन माओवादीका बिद्यार्थी संगठन कार्यगत एकता गर्दै आन्दोलनमा उत्रिएका छन् ।
तीन माओवादी पार्टीबीच एकताको चर्चा चलिरहेका बेला बिद्यार्थी संगठनहरुले शैक्षिक र जनजीविकाका सवाल उठाउदै आन्दोलनको कार्यक्रम सार्वजनिक गरेका हुन् ।
एमाओवादी, बैद्य माओवादी र विप्लव माओवादी सम्बद्ध अखिल क्रान्तिकारीका अध्यक्षहरुले मंगलबार संयुक्त बिज्ञप्ति निकाल्दै पेट्रोलियम पदार्थको अभाव, संस्थागत बन्दै गइरहेको कालोबजारी तथा तस्करी नियन्त्रण गर्न सरकारलाई दवाव दिने उद्देश्यले आन्दोलनका कार्यक्रम सार्वजनिक गरेका छन् ।
आन्दोलनका कार्यक्रमहरुमा माघ २० गते आपूर्तिमन्त्रीलाई ज्ञापनपत्रसहित ध्यानाकर्षण गराउने, माघ २१ गते नेपाल आयल निगमको केन्द्रीय कार्यलयमा प्रदर्शनसहित धर्ना दिने, २२ गते पेट्रोलियम पदार्थको मूल्यमा भएको समायोजनसंगै यातायातको भाडादरमा पनि समायोजन गर्न दवाव दिन भौतिक योजना तथा यातायात मन्त्रालयमा डेलिगेशनसहित ज्ञापनपत्र बुझाउने लगायत रहेको छ ।
त्यस्तै माघ २४ गते देशभरका क्याम्पसहरुमा १ घण्टा प्रदर्शनसहित संयुक्त कोणसभा गर्ने र माघ २७ र २८ गते  सरोकारवालाहरुसंग अन्तर्क्रिया र फागुन १ गते प्रभातफेरी गर्ने लगायतका छन् ।
विज्ञप्तिमा मुलुकको शिक्षा क्षेत्रमा देखिएको अराजकता र बेथिति नियन्त्रण गरिनुपर्ने, बिश्वबिद्यालयमा हुने राजनीतिक नियुक्ति खारेज गरिनुपर्ने लगायतको माग गरिएको छ ।
त्यस्तै संयुक्त बिज्ञप्तिमा माओवादी सम्बद्ध बिद्यार्थीहरुले काठमाडौं तराई प्रदेश जोड्ने फाष्ट ट्रयाकको निर्माण जिम्मा बदनाम भारतीय कम्पनीलाई दिने सरकारी निर्णयको बिरोध पनि गरेको छ ।
विज्ञप्तिमा एमाओवादी सम्बद्ध अखिल क्रान्तिकारीका अध्यक्ष रमेश मल्ल, बैद्य माओवादीका रत्न ढकाल र विप्लव माओवादीका पूर्णबहादुृर सिंहको हस्ताक्षर छ ।

Previous
Next Post »